कोसी र वाग्मती प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना
थानकोट ।
देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान छ ।
दिउँसो भारी वर्षा हुँदा राति धेरै भारी वर्षाको पूर्वानुमान छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको हुँदा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको हो ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ ।
वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोसी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना छ ।
पहाडी भूभाग तथा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भूभागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।
मधेश प्रदेश तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।
कोसी प्रदेशको हिमाली, पहाडी र तराई भूभाग तथा वाग्मती प्रदेशको हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
कोसी र वाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको विभागले प्रस्ट पारेको छ ।











