नागढुङ्गा नाका आज राति पनि बन्द रहने, सवारीसाधन बाहिरिन नपाउने
थानकोट ।
काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै जाने सवारी साधनहरूको आवागमनमा बुधबार रातभरि पनि पूर्ण रोक लगाइएको छ।
बुधबार बिहान तिब्बततर्फबाट आएको बाढीका कारण धादिङको बैरेनी लगायत विभिन्न ठाउँमा सडक अवरूद्ध भएको र नदीको जोखिम अझै कायम रहेकाले आवागमन बन्द गरिएको हो।
उक्त अवरोध हटाउन केही समय लाग्ने भएकाले बिहानदेखि नै काठमाडौंबाट जाने सवारी साधनमा रोक लगाइएको थियो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीको जोखिम हेरेर धादिङ, रसुवा र चितवनतर्फ जाने सवारी साधनहरू दिउँसैदेखि रोकिएका छन्।
नागढुंगा र भीमढुंगा नाका हुँदै बाहिरिने सवारी साधनलाई काठमाडौंमै रोकिएको उनले जानकारी दिए।
‘यातायात व्यवसायीहरूलाई पनि धादिङ, रसुवा र चितवनतर्फ सार्वजनिक सवारी साधन नचलाउन आग्रह गरिएको छ,’ उनले भने।











