थानकोटबाट करिब ६० केजी चाँदी बरामद, एक जना पक्राउ
थानकोट ।
थानकोटबाट प्रहरीले करिब ६० केजी चाँदी बरामद गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले सोमबार भन्सार छलेर ल्याएको चाँदी बरामद गरेको हो ।
चाँदीको अवैध ओसारपसारमा संलग्न आरोपमा भारतीय नागरिक अमन सर्राफलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको बिहारस्थित रक्सौल घर भएका अमनले थानकोटमा सुनचाँदी पसल सञ्चालन गर्दै आएको प्रहरीको भनाइ छ ।
बरामद सामान चाँदी हो कि होइन भनेर परीक्षणका लागी पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए । उनले भने, ‘बरामद सामानको परीक्षण र तौल यकिन गर्ने काम हुँदै छ।’
अमनले मोटरसाइकलमा फल्स बटम बनाएर चाँदी ल्याउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
अमनका बुवा आमालाई आइतबार मकवानपुर प्रहरीले हेटौँडाबाट १४ केजी चाँदी सहित पक्राउ गरेको थियो ।
बुवा रमेश कुमार सर्राफ र आमा चन्दा सोनी पक्राउ परेपछि प्रहरीले अमनलाई पक्राउ गरेको हो ।
उनको पसल र डेरा खानतलासी गर्दा भन्सार छलेर ल्याएको चाँदी भेटिएको थियो।














