ओझेलमा चन्दनभराटेश्वर मन्दिर

Thankot Times

थानकोट ।

चन्द्रागिरि पहाडको काखैमा अवस्थित चन्दन भराटेश्वर महादेव मन्दिर काठमाडौंको थानकोटमा अवस्थित प्राचीन ऐतिहासिक धार्मिकस्थल हो। चन्द्रागिरि नगरपालिका-६ मा रहेको यो मन्दिर भगवान शिवका ६४ वटा ज्योतिर्लिङ्‍गमध्ये ५०औं मानिन्छ।

भष्म गङ्‍गाबाट बहेर आएकी नवधारा तीर्थमा स्नान गरेर चन्दन भराटेश्वरको विधिवत् पूजा गरेमा आफूले चाहेको कुरा प्राप्त हुन्छ भन्ने किम्वदन्ती हिमवतखण्डमासमेत उल्लेख गरिएको छ।

यस मन्दिरको निर्माण कहिले ,कसले, कसरी गर्‍यो भन्ने यकिन तथ्य फेला नपरेता पनि स्थानीय ज्येष्ठ नागरिकहरु भने आफ्ना पूर्वजहरुका अनुसार यस क्षेत्रमा परापूर्वकालमा ठूलो सिस्नुको घारी थियो भन्ने कुरा बताउँछन्। उक्त सिस्नुघारीको बीचतिर एक गाईले सधैँ आफ्नो दूध चढाएको देखेपछि गाउँले सबै गएर हेर्दा उक्त स्थानमा शिवलिङ्‍ग फेला पारेपश्चात् यस मन्दिरको निर्माण गरिएको स्थानीय ज्येष्ठ नागरिकहरु बताउँछन्।

तथापि, हिमवतखण्डमा उल्लेख भएअनुसार भने प्राचीनकालमा भगवान शिवले पार्वतीलाई साथ लिएर विमानमा बसी यस क्षेत्रमा भ्रमण गर्नुभएको थियो। भ्रमण गर्ने क्रममा यस स्थानमा आइपुगेपछि यस लिङ्‍ग मूर्तिलाई देखाउँदै यसको पूजाबाट ब्रह्म, विष्णु र ईन्द्रले पनि मनले चाहेको कुरा प्राप्त गर्दछन् भन्ने कुरा बताउनुभयो। महादेवको कुरा सुनेर पार्वतीले तुरुन्तै विमानबाट ओर्लेर यस ठाउँमा आएर नवधाराको ढुङ्‍गामा चन्दन घोटी यसै शिवलिङ्‍गलाई लेपन गराउँदै हजार वर्ष बिताउनुभएको थियो। त्यो बेलादेखि यस लिङ्‍गको नाम चन्दन भराटेश्वर रहन गएको तथ्य हिमवतखण्डमा उल्लेख गरिएको छ।

त्यसको १० हजार वर्षपछि सत्ययुगमा यसै क्षेत्रमा सुप्रभा नाम गरेको एउटा नगरी थियो। ब्रह्मानन्द नाम गरेका एक जना प्रख्यात शिक्षित ब्राह्मण थिए। उनको एकमात्र छोरा थियो। उनको वृत्ति भने तीर्थहरूमा र ठूलठूला पर्वहरूमा दान लिने थियो। अकस्मात् तिनको त्यो छोरा सानै उमेरमा मृत्युवरण गर्न पुगेका थिए। त्यसैले शोकमा ती ब्राह्मणले आफ्नो छोराको मृत लास बोकेर चन्दन भराटेश्वरको नजिक ल्याइ अनेकन विलाप गर्दै ती ब्रह्मानन्दले प्राणत्याग गर्दछु भने। पुत्र शोकले व्याकुल भएका तिनलाई त्यस लिङ्‍गमा अवस्थित ईश्वरले आफ्नो ज्योतिरूपको दर्शन दिँदै सँगै रहेको भस्म गङ्‍गामा मरेको छोरालाई स्नान गराइ त्यहाँ अवस्थित शिवलिङ्‍गको दर्शन गराएमा ब्राह्मणको छोरा पनि बाँच्नेछ भनी त्यसै लिङ्‍गमा देखिएको ज्योति अन्तर्ध्यान भयो। यो घटना कार्तिक शुक्ल नवमीका दिनमा भएको थियो।

त्यसपछि यस महालिङ्‍गलाई नमस्कार गरेर आफू र आफ्ना छोरालाई पनि भस्म गङ्‍गामा भक्तिपूर्वक स्नान गराए। आफूले स्नान गरेर त्यो मरेको छोरालाई पनि सङ्‍कल्प पढी विधिपूर्वक स्नान गराए। अनि त त्यो बालक सुतेर उठेझैँ गरी जीवित भएर उठ्यो। ती ब्राह्मणले त्यो छोरालाई काखमा राखी यो शिवलिङ्‍गलाई भक्तिपूर्वक स्तुतिपाठ गर्दै नमस्कार गरे। बाँचुञ्जेल यस लिङ्‍गको सेवा गरी मरेपछि शिवलोक गए भनेर हिमवतखण्डमा उल्लेख गरिएको छ।

चन्दननाथ भराटेश्वर मन्दिरको छेवैमा ६४ लिङ्‍ग महादेवको मन्दिर पनि रहेको छ।

यस ऐतिहासिक धार्मिकस्थलको पर्याप्त मात्रामा प्रचारप्रसार हुन नसकेता पनि वि.सं.२०७३ सालमा रु.५ को हुलाक टिकट छपिएको थियो। शिवरात्री, माघे सङ्‍क्रान्ति, श्रावण सोमबार, तीज जस्ता हिन्दू धर्मावलम्बीहरुको विशेष दिनमा यस मन्दिर परिसरमा निकै घुइँचो लाग्ने गरेता पनि अन्य समयमा धार्मिक पर्यटकको आवागमन उत्साहजनक हुन सकेको छैन्।

  • विनय देसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *