चन्द्रागिरिमा टाइफाइडविरुद्धको खोप सुरू, जनप्रतिनिधि विद्यालयमै पुगेर अनुगमन

Thankot Times

थानकोट २६ ।

शुक्रबारबाट देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप (कन्ज्युगेट भ्याक्सिन) दिन सुरू गरिएको छ ।

सरकारले १५ महिना देखि १५ वर्षमुनिका झण्डै ७५ लाख बालबालिका लागि खोप दिने लक्ष्य राखेको छ । टाइफाइड विरुद्धको खोप नेपालमा पहिलो पटक बालबालिकालाई दिन थालिएको हो । सो अभियान पश्चात नियमित खोपका रुपमा १५ महिना पुगेका बालबालिका लागि निर्धारण गरिनेछ ।

यो सँगै नेपालमा बालबालिकालाई दिइने नियमित खोपको संख्या १३ पुग्नेछ ।

चन्द्रागिरि नगरपालिकाका स्वास्थ्य संस्थाहरूले सम्बन्धित संस्थाको कार्यक्षेत्र भित्रका विद्यालयहरूमै पुगेर खोप लगाउने कार्यक्रम बनाएका छन् । ती कार्यक्रममा सम्बन्धित वडाका जनप्रतिनिधिहरूले खोप केन्द्रसम्म पुगेरै अनुगमन गरिरहेको देखिएको छ ।

कार्यक्रम सफल बनाउन स्वास्थ्य संस्थाका कर्मचारी, विद्यालयका शिक्षक शिक्षिका तथा ग्रामिण महिला स्वास्थ्यस्वंयसेविकाहरूले सहयोग पुर्याइरहेका छन् ।

 

खोप लगाएपछि कस्ता असर देखिन सक्छन् ?

टाइफाइड खोप लगाएपछि अन्य खोपहरुमा जस्तै केही सामान्य (सूई लगाएको ठाउँमा रातो हुने, सुन्निने र दुख्ने, हल्का ज्वरो आउने, टाउको दुख्ने, हात गोडा तथा जोर्नी दुख्ने आदि) असर हुनसक्छन् र यस्ता सामान्य असरहरु विस्तारै आफैं ठीक भएर जान्छन् ।

खोप लगाएपश्चात यस्ता लक्षणबाहेक अन्य स्वास्थ्य जटिलता देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ ।

यो खोप विगतमा कुनै खोप लिँदा प्रकारको प्रतिक्रिया देखा परेको वा कुनै खाना वा अन्य वस्तुबाट कडा एलर्जी भएको भए, एड्सको लक्षण देखा परेको अवस्थामा दिनुहुँदैन । साथै उच्च ज्वरो आएको वा सिकिस्त बिरामी भएको अवस्थामा दिनुहुँदैन, तर बिरामी ठीक भइसकेपछि यो खोप लिन सकिन्छ ।

तर साधारण बिरामी भएको अवस्था जस्तै, हल्का ज्वरो आएको, रुघाखोकी लागेको, कुपोषण भएको अवस्थामा यो खोप लगाउन मिल्छ ।

तस्बिरहरू विभिन्न वडाका स्वाथ्य केन्द्र तथा कर्मचारीहरूबाट प्राप्त 


Leave a Reply

Your email address will not be published. Required fields are marked *