लिच्छवि राजाले छोरीलाई दाइजो दिएका थिए थानकोट

Thankot Times

थानकोट ।

काठमाडौंको थानकोट क्षेत्र लिच्छविकालदेखिकै महत्वपूर्ण भूभाग हो भन्ने कुरा प्राचीन कालमा राखिएका पुरातात्विक तथा साहित्यिक स्रोतहरुमा उल्लेख गरेका छन् । लिच्छविकालमा थानकोट क्षेत्र प्रमुख व्यापारिक केन्द्रको रुपमा थियो । तर लिच्छवि राजाले छोरीलाई दान दिएको यो क्षेत्रमा पञ्चापराधबाहेक अरु सरकारी अड्डा पस्न नपाउने व्यवस्था गरेको थियो ।

यसरी लिच्छविकालमा पनि यस क्षेत्रमा वस्ती भएको थाहा पाइन्छ । यहाँ गुप्तवंशीहरूको बस्ती भएको र यहाँको केन्द्रसँग राम्रो सम्बन्ध रहेको वुझिएको छ । साथै, यहाँका गुप्तहरूको केन्द्रको शासनमा पनि हात रहेको बुझिन्छ । वसन्तदेवको अभिलेखबनाट यहाँका स्थानीय जनतालाई केही छुट दिएको र यहाँ चारै अधिकरण पस्न नपाउने व्यवस्था बाँधिदिएका थिए। यसकारण लिच्छविकालीन समयमा पनि यो क्षेत्रको महत्वपर्ण स्थान थियो ।

शर्मिला उप्रेती अर्यालद्वारा लिखित काठमाडौं जिल्ला महादेवस्थान गाउँ विकास समिति क्षेत्रको सांस्कृतिक अध्ययन नामक शोधमा यो क्षेत्रको अध्ययनमा पनि यो लिच्छविकालीन बस्ती रहेको बुझिन्छ । लिच्छवीकालीन समयमा पनि यो थानकोट क्षेत्रको महव्वपुर्ण स्थान रहेको देखिन्छ । तत्कालीन राज्यप्रमुखहरूले यस क्षेत्रमा अभिलेख राखी त्यस क्षेत्रका बासिन्दाहरूलाई सम्बोधन गरी विभिन्न किसिमका करहरू माफी गरिदिएको तथा सरकारी अफिसरहरूले दुःख नदिनु भन्ने बन्देज बाँधिएको पाइन्छ ।

मानदेवको नाति वसन्तदेवको पहिलो अभिलेख संवत ४२८ को थानकोट आदिनारायणको अभिलेख मानगृहबाट प्रसारित छ। यस अभिलेखमा वसन्तदेवले आफ्नी बहिनी जयसुन्दरीको विवाह गुप्त वंशका कुनै व्यक्तिसँग गरिदिएर ती राजकुमारीलाई दाइजोको रूपमा थानकोट भेगको एउटा गाउँ दिएको कुरा अभिलेखबाट थाहा पाइन्छ । सो गाउँको नाम जयपल्लिकाग्राम भनिएको दान पाउने जयसुन्दरीकै नामको जय जोडिएको देखिन्छ । यो जयपल्लिकाग्राम नामको बीचमा जुन पल्लिका शब्द छ त्यसले महत्वपूर्ण तथ्यतिर संकेत गर्दछ । आभीरहरूको बस्ती वा टोललाई आभिरपल्ली भनिन्छ भन्ने कुरा संस्कृत केशबाट थाहा पाइन्छ ।
यही कुरा केही फेरिएको रूपमा जयपल्लिका ग्राममा देखिन्छ । गोपाल वा ग्वालाहरूको बस्ती गाँउलाई पल्ली भन्ने चलन रहेको पृष्ठभूमिमा जयसुन्दरीको विवाह आभीर गुप्तवंशी कुनै व्यक्तिसँग भएको अनुमान गर्न सकिन्छ । थानकोट क्षेत्र आभीर गुप्तहरूको केन्द्रस्थल रहेको र त्यहीँ ती राजकुमारीलाई बिर्ता गाँउ दिइएकोले जय पल्लिकाग्राम भनिएको हुन सक्छ । हालको महादेवस्थान गा.वि.स. अन्तर्गत् कुलाछेटोल किसिपिडींको संवत ४८२ को अभिलेखबाट उनले सो क्षेत्रका बासिन्दाहरूको भलाइका निमित्त केही कर माफी गरिदिएको तथा सरकारी अफिसरहरूले दुःख नदिनू भन्ने बन्देज बाँधेको बुझ्न सकिन्छ ।

संवत ४८२ (ई ५६०) मा प्रसारित ६ ओटा एकै भाकाका शिलालेखहरू थानकोट बलम्बुभेगबाट पाइएका छन् । पहिलेका राजाबाट कुथेर र शुल्की नामक अधिकरणले पस्न नपाउने गरी निगाह गरिएकोमा सर्वदण्डनायकमहाप्रतिहार श्री भौमगुप्तले लिङ्ग्वल र माप्चोकसमेत चारै अधिकरणहरूले पञ्चपराधसम्बन्धी मुद्दामा पनि पस्न नपनउने गरी बिन्ती गरेकोमा सोही बमोजिम आज्ञा प्रसारित गरिएको कुरा ती अभिलेखहरूमा लेखिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *