सार्वजनिक जग्गा संरक्षणमा कठोर बन्दै चन्द्रागिरि नगर, डोजर लगाउनेदेखि काँडेतार लगाउने तयारी
थानकोट ।
नगरको क्षेत्राधिकारभित्र पर्ने सार्वजनिक जग्गा संरक्षणका लागि चन्द्रागिरि नगरपालिकाले डोजर लगाउनेदेखि काँडेतार लगाउनेसम्मको तयारी गरेको छ ।
आइतबार चन्द्रागिरि नगरपालिका-३ का स्थानीयहरूसँगको भेटमा नगरप्रमुख घनश्याम गिरीले सो बताउनुभएको हो ।
चन्द्रागिरि नगरपालिका-३ थानकोटका स्थानीयहरू सो वडाको सार्वजनिक जग्गामा ट्राफिक प्रहरी कार्यालय बन्न लागेको विषयको विरोधमा नगरप्रमुख घनश्याम गिरीलाई ज्ञापन पत्र बुझाउन नगरपालिकाको कार्यालयमा पुगेका थिए ।
सो क्रममा स्थानीयहरूले परापूर्वकालदेखी संरक्षण भइआएको जग्गामा स्थानीयहरूको राय समेत नबुझी संरचना निर्माणका लागि जग्गा दिने निर्णय भएकोमा असन्तुष्टि व्यक्त गर्दै सो निर्णय रोक्न नगरप्रमुखसँग माग गरेका छन् ।
स्थानीयहरूको ज्ञापनपत्र बुझ्दै नगरप्रमुख गिरीले नगरका सार्वजनिक जग्गाहरू सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था, वडा कार्यालय तथा स्थानीय स्तरमा सुरक्षा व्यवस्थापनका लागि नगरपालिकाको अध्ययनपछि गरिने सिफारिसपछि मात्रै प्रयोग गर्न दिने व्यवस्था कडाइका साथ लागु गर्न नीति बनेको जानकारी दिनुहुँदै स्थानीय निकायले केन्द्र सरकारको नीति निर्देशन अनुरूप सार्वजनिक जग्गाको संरक्षणको कार्य सुरू हुन लागेको बताउनुभयो ।
काठमाडाैं जिल्ला भित्रने चन्द्रागिरिका विभिन्न पाँच स्थानमा सुरक्षाकर्मीहरूका लागि जग्गा माग भइरहेको जानकारी दिनुहुँदै नगरप्रमुख गिरीले ती स्थानमा के कसरी जग्गा उपलब्ध गराउने भन्ने बारेमा समेत कार्यपालिका बैठकमा छलफल भइरहेको जानकारी दिनुभयो । नगरप्रमुख गिरीका अनुसार राजधानी भित्रने चन्द्रागिरिका इन्द्रस्थान, चखेल देउराली, गोदाम, नागढुङ्गा र मसिने नाकामा सुरक्षा निकायबाट जग्गा उपलब्ध गराइदिन पटकपटक अनुरोध भइरहेको जानकारी दिनुभयो ।
राजधानी काठमाडाैंको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै ती स्थानमा सुरक्षा निकायहरूबाट जग्गाको माग भइरहेको बताइएको छ।













