कपडा सुकाउन इनारमा टेकेकी महिला स्ल्याब फुटेर इनारमा खसिन्, उद्दार प्रयास जारी
थानकोट ।
ललितपुरको इमाडोलमा इनारमा खसेकी एक जना महिलाको उद्धार कार्य भइरहेको छ।
सोमबार बिहान ९: ५० बजे महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै बस्ने एक जना महिला इनारमा खसेकी हुन्। दोलखा घर भएकी उनी इमाडोलमा डेरा गरी बस्ने २८ वर्षीया न्यूतन प्रधान रहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीका अनुसार उनी कपडा धोइरहेकी थिइन्। कपडा सुकाउनका लागि इनारको स्ल्याबमाथि चढिन्।
त्यही बेला स्ल्याब फुटेर इनारभित्र खसेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।
‘कपडा सुकाउन जाँदा स्ल्याबमा टेक्नुभएको रहेछ। त्यही बेला स्ल्याब फुटेर खस्नुभयो,’ उनले भने, ‘उद्धारको काम जारी नै छ। टोली खटिएको छ,’ उनले भने।
उनलाई केही चोट लागेको हुनसक्ने प्रहरीले जनाएको छ। उनी बोल्न सक्ने अवस्थामै छिन्। उनले उद्धारकर्मीसँग कुराकानी गर्दै निस्किने प्रयास गरिरहेको प्रहरीले बताएको छ।
प्रधान इनारमा खसेको भन्ने खबर प्रहरीलाई पौने ९ बजे भएको थियो। त्यसलगत्तै प्रहरी प्रभाग इमाडोलबाट सई श्यामकृष्ण अधिकारीको टोली घटनास्थलमा पुगेको थियो।
यस्तै ललितपुर महानगर प्रहरीको टोली घटनास्थलमा दमकल सहित पुगेको छ। त्यस्तै प्रहरी वृत्त सातदोबाटोबाट डिएसपी उमेश जोशी नेतृत्त्वको टोली पनि घटनास्थलमा पुगेका छन्। सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली पनि उद्धारका लागि घटनास्थल पुगेको छ।













