नेपाल प्रिमियर लिग (एनपिएल) को पुरस्कार राशि घोषणा, पुरस्कार राशि ४० लाखले वृद्धि
थानकोट ।
नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको उपाधि विजेता टोलीले एक करोड ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार आयोजित पत्रकार सम्मेलनमा अघिल्लो संस्करणको तुलनामा यसपटक विजेताको पुरस्कार राशि ४० लाख रुपैयाँले बढाइएको जानकारी दिएको हो ।
प्रतियोगितामा उपविजेता टोलीले ८० लाख, तेस्रो हुने टोलीले ४० लाख र चौथो स्थान हासिल गर्ने टोलीले ३० लाख रुपैयाँ पाउने क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए ।
गत संस्करणमा लुम्बिनी लायन्सले उपाधिसँगै एक करोड १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको थियो ।
विजेताको पुरस्कार राशि वृद्धिसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ ।
एनपिएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदै छ । प्रतियोगितामा यसपटक पनि आठ टोली सहभागी हुनेछन् ।














