मेलम्चीको पानी काठमाडाैं आइपुग्दा नवौंपटक उद्घाटन, पहिलो उद्घाटनको धारामा कमिला
थानकोट ।
काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट सोमबार मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गरेका हुन् ।
अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिकरूपमा पानी वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको तथा खानेपानीको परिमाण मापन गरी क्रमिकरूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिने उनले बताए ।
प्रधानमन्त्री दाहालले मेलम्चीको पानी राजधानी ल्याउने व्यवस्था मिलाउन खानेपानीमन्त्री महिन्द्र राय यादवलाई निर्देशन दिएका थिए । प्रधानमन्त्रीको निर्देशनपछि खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजना मर्मत गरी पानी ल्याउन पहल गरेको हो ।
विसं २०७७ साल चैतमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री केपी ओलीले भृकुटीमण्डपमा ढुङ्गेधारा बनाएर तामझामसाथ उद्घाटन गरेको मेलम्ची खानेपानी आयोजनाको पानी त्यसको तीन महिना पछि आएको बाढीले मुहान पुरिदिएपछि बन्द भयो। धारामा अहिले कमिला कुद्न थालेको छ।
त्यसको केही महिनापछि २०७८ आषाढ १ गतेको बाढीबाट मेलम्चीको मुहान क्षतिग्रस्त भयो।
तर बाढीले जम्मा गरेको गेग्रान हटाएर र मुहानमा अस्थायी संरचना बनाएर २०७९ वैसाखमा पुन मेलम्चीको पानी काठमाण्डू ल्याइएको थियो। यसपालि पनि साउन २८ र २९ गते आएको बाढीले उक्त अस्थायी संरचना क्षतिग्रस्त बनाएपछि अस्थायी व्यवस्था गरेर पानी ल्याउन माघसम्म पर्खनुपर्यो।
गतवर्ष जस्तै अस्थायी संरचना बनाएर ल्याइएको पानी बर्खा लागेपछि पुन: बन्द गरिने खानेपानी मन्त्रालयकी प्रवक्ता मीना श्रेष्ठले बताइन्।
तस्बिरहरूः प्रकाश गोपाली














