चन्द्रागिरि नगर क्षेत्रमा चिसो बढ्दो, कति छ अहिले बिहानको तापक्रम ?
थानकोट ।
चन्द्रागिरिसहित देशभरकाे तापक्रम घट्ने क्रम जारी छ । यस क्षेत्रमा अहिले बिहान ६ बजे तापक्रम ३ डिग्री सेल्सियस मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रहेको छ । बिहान ५ः४५ बजे काठमाडौंमा ४ डिग्री सेल्सियस तापक्रम मापन गरिएको हो ।
विभागका अनुसार तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको छ । काठमाडौंमा बिहान ६ बजेको भिजिविलिटी पाँच किलोमिटर रहेको छ ।
विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएकाे छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागले राति कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।













