सेतो पहरामा भएको सडक दुर्घटनाको असर पर्यटनमा, सुनसान जस्तै बन्यो चित्लाङ-मार्खु क्षेत्र

थानकोट ।

विगतमा पर्यटकले खचाखच हुने मकवानपुरको उत्तरी क्षेत्रको चित्लाङ-मार्खु क्षेत्रमा अहिले पर्यटकको चहलपहल घटेको छ । गत पुसको अन्तिममा गणेशमान सिंह मार्गको चित्लाङ–थानकोट सडकखण्ड अन्तर्गत काठमाडौँतर्फ सवारीसाधन दुर्घटनासँगै पर्यटकीय स्थल चित्लाङ–मार्खु क्षेत्रमा पर्यटकको आगमन घटेको हो । चित्लाङ–थानकोट सडकखण्ड अन्तर्गत सेतो पहरामा पाँच जनाको ज्यान जाने गरी कार दुर्घटना भएसँगै उक्त मार्ग भएर सवारीसाधनको आवागमन ह्वात्तै घटेको छ ।

विशेष गरी शनिबार र बिदाको दिन काठमाडौँबाट ठुलो सङ्ख्यामा ऐतिहासिक महत्वसँगै प्राकृतिक मनोरमताले भरिपूर्ण चित्लाङ–मार्खु क्षेत्रमा आउने पर्यटकका कारण त्यस क्षेत्रका होटल, होमस्टे भरिभराउ हुने गरेका थिए । तर दुर्घटनासँगै सवारीसाधन आवतजावतमा कमी र पर्यटक आउने क्रममा पनि कमी आएको स्थानीय होटल व्यवसायी बताउँछन् ।

मकवानपुर होटल एसोसिएसन उत्तरी क्षेत्र समितिका संयोजक रामशरण नेपाल विगतको तुलनामा अहिले पर्यटकको आगमन झन्डै ६० प्रतिशतले घटेको बताउनुहुन्छ । उहाँले पुसमा भएको कार दुर्घटनापछि चित्लाङ–मार्खु क्षेत्रको पर्यटनमा सडकका कारण नकारात्मक प्रभाव परेको बताउनुभयो । मङ्सिर महिनाको सुरुवातीसँगै पर्यटक आउने याम नै हो, अहिले साना ठुला होटल, होमस्टे, गेस्ट हाउस सबैजसो भरिभराउ हुन्थे । चित्लाङ रिसोर्ट प्रालिका सञ्चालकसमेत रहनुभएका नेपालले भन्नुभयो, “अहिले भने होटल, होमस्टे, गेस्ट हाउस सञ्चालकलाई व्यवसाय थेग्न नै धौ धौको अवस्था छ ।”

दुर्घटनापछि गएको सन्देशले चित्लाङ–थानकोट सडक भएर काठमाडौँबाट आउनेको सङ्ख्या कम भएको बताउँदै उहाँले फर्पिङ–फोखेल र सतुङ्गल–चखेल भएर पर्यटक मार्खुमा आए पनि विगतको तुलनामा कम आउने गरेको बताउनुभयो ।

काठमाडौँबाट फर्पिङ–फोखेल र सतुङ्गल–चखेल भएर आउने अधिकांश पर्यटक मार्खु क्षेत्रमा बस्ने र नगण्य सङ्ख्यामा मात्र चित्लाङ पुग्ने गरेका छन् । यस्तै मार्खुस्थित कुलेखानी हिल लजका सञ्चालक अनील लामा वाइबा सेतो पहरामा भएको कार दुर्घटनापछि मार्खु क्षेत्रको पर्यटन प्रभावित भएको बताउनुहुन्छ । उहाँले कार दुर्घटनापछि सडक ठिक छैन, जोखिमपूर्ण छ भन्ने सन्देश गएसँगै विगतको वर्षको तुलनामा पर्यटक आउने क्रम निकै नै घटेको बताउनुभयो ।

यहाँ आउने पर्यटकको प्रमुख स्रोत काठमाडौँ उपत्यका हो, कार दुर्घटनाको खबरसँगै चित्लाङ–थानकोट भएर आउने पर्यटक हप्तौँसम्म आउनै छाडे, सञ्चालक लामाले भन्नुभयो, “अहिले पनि विगतको वर्षको तुलनामा २५ प्रतिशतभन्दा बढी पर्यटक आगमनमा कमी छ ।”

चित्लाङ–थानकोट सडकको सेतो पहरामा कार दुर्घटनासँगै काठमाडौँबाट पर्यटक आउने वैकल्पिक सडकहरू मातातीर्थ–चखेल सडक, फाखेल–फर्पिङ र सिस्नेरी–दक्षिणकाली सडक स्तरोन्नतिका क्रममा लामो समयसम्म बन्द हुँदा पनि उत्तरी क्षेत्रको पर्यटन प्रभावित बनेको छ ।

चित्लाङ–थानकोट सडकमा मर्मतसँगै मातातीर्थ–चखेल सडक र फाखेल–फर्पिङ सडक भएर काठमाडौँतर्फबाट आउने क्रम सुरु भएपछि पर्यटक आउने क्रममा सुधार भएको लामाको भनाइ छ ।

चित्लाङमा रिसोर्ट सात वटासहित होमस्टे र गेस्ट हाउससहितका अन्य साना होटल ३० भन्दा बढी सङ्ख्यामा रहेको चित्लाङ होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्षसमेत रहेका नेपालले जानकारी दिनुभयो । यस्तै मार्खु–सिम्लाङ क्षेत्रका ठुला होटल एक दर्जन र होमस्टेसहित साना होटल, लज दुई दर्जनको सङ्ख्यामा छन् । मार्खु–सिम्लाङ क्षेत्रका होटलको मात्र झन्डै आठ सय जना पाहुना राख्ने क्षमता रहेको बताउँदै लामाले फागुन लागेपछि पर्यटक आउने क्रम सुधारोन्मुख रहेको बताउनुभयो । उहाँले चित्लाङ–मार्खु क्षेत्रको पर्यटन काठमाडौँबाट आउने पर्यटकले धानेको भन्दै हेटौँडालगायतका क्षेत्रबाट कमै पर्यटक आउने गरेको बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *