चन्द्रागिरि नगर क्षेत्रमा रातभर झरी, आज मध्यान्हपछि पुनः वर्षा सुरु हुने
थानकोट ।
चन्द्रागिरि नगर क्षेत्रमा रातभर वर्षा भएको छ । वर्षासँगै यस क्षेत्रमा चिसो पनि बढेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित केही भू-भागमा आज पनि वर्षा हुने भएको छ । देशका केही भू-भागमा बिहानैबाट वर्षा भइरहेको छ ।
विभागका अनुसार बिहान कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
कोशी, मधेस र वाग्मती प्रदेशमा साधारणदेखि पूर्णतया बदली रहेको छ ।
गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा साधारणतया बदली रहेको छ । सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ ।
मौसमविद् सञ्जिव अधिकारीका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी प्रदेशका केही स्थान, मधेस, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा देशका बाँकी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कोसी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । मधेस र कोसी प्रदेशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।
काठमाडौंमा बिहानै पानी परे पनि केही समयबाट भने रोकिएको छ । तर दिउँसो पुनः पानी पर्नेछ । “काठमाडौंमा बिहानै पानी पर्यो । अहिले ६ बजेतिरबाट रोकिएको छ,” मौसमविद् अधिकारीले भने, “तर केही दिउँसो पुनः वर्षा हुनेछ । काठमाडौंमा मध्याह्नपछि पानी पर्नेछ ।”










