कीर्तिपुर नगरक्षेत्रमा आज स्थानीय बिदा, शब्द चित्रमा ३४ वर्षअघि स्तब्ध बनेको कीर्तिपुरको माहोल
थानकोट ।
काठमाडाैंको कीर्तिपुर नगरमा आज स्थानीय बिदा दिइएको छ ।
कीर्तिपुर नगरले सोमबार सूचना जारी गर्दै आज नगरक्षेत्रमा स्थानीय शहीद दिवसको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
२०४६-४७ को जनआन्दोलनका क्रममा चैत २० गते पञ्चायती निरङ्कुश व्यवस्थाको प्रशासनले ४ जना कीर्तिपुरमा प्रदर्शनकारीहरू माथि गोली प्रहार गर्दा लनबहादुर महर्जन, हिराकाजी महर्जन, राजमान माली र राजेन्द्र महर्जनको मृत्यु भएको थियो ।

यस्तो थियो घटना क्रमः
जन आन्दोलन २०४६ फागुन ७ गतेबाट सुरु भएको थियो । फागुन ८ गते भक्तपुरमा आन्दोलनकारीहरूमाथि विश्वमै प्रतिबन्ध गरिएको डमडम गोली हानी ४ जना र पछि दुईजना गरी ६ जनाको हत्या भएको थियो ।
पञ्चायती शासकले भक्तपुरका जनतालाई गोली हानेर मारे पनि सङ्घर्ष रोकिएन । सङ्घर्षको आगो देशभर झन् दनदन बल्यो । चैत १७ गते पाटनमा पाटनवासीको आन्दोलनमाथि गोली बर्साइयो र २ जना पाटनका २ जनाले ज्यान गुमाए ।
सिङ्गो देश पञ्चायती व्यवस्थाको विरोधमा उठ्यो । चैत २० गते पाटन हत्याकाण्डको विरोधमा उपत्यका बन्द थियो ।
कीर्तिपुरमा बिहानदेखि नै पञ्चायती व्यवस्थाको विरोधमा जुलुस निस्केको थियो । बिहानैदेखि पक्राउ सुरु भएको थियो । साँझ ४ बजे पक्राउ परेकाहरूको रिहा गर्न माग गर्दै जुलुस कीर्तिपुर खासीबजारस्थित प्रहरी चौकीतर्फ गइरहेको थियो ।
तर, आन्दोलनकारीको मनसाय चौकी आक्रमण गर्नु थिएन।
शान्तिपूर्वक चौकीबाट समल जाने तरखरमा अगाडि बढेको थियो । चौकी पुग्नै लाग्दा हेलिकप्टर कीर्तिपुर वरिपरि आकाशमा उड्दै थियो । त्यहीँ हेलिकप्टरबाट गोली गठ्ठा फालेको र टियर ग्यास छोडेको थियो । चौकी नपुग्दै प्रहरीले एक्कासि गोली हान्न थाल्यो ।
राजमान माली र राजेन्द्र महर्जन चौकी खासीबजारमै ढलेका थिए भने लनबहादुर महर्जन र हिराकाजी महर्जनलाई कुटुझोलमा गोली हानी हत्या गरिएको थियो ।
गोली हानी हत्या भएका मध्ये ३ जना प्रहरीको कब्जामा लियो भने राजमान मालीलाई जनताको कब्जामा राखेका थिए ।
जनताको कब्जामा रहेका मालीको चैत २१ गते शवयात्रा गरी स्थानीय देवढोकामा अन्त्येष्टि गरिएको थियो । शोकलाई शक्तिमा बदल्ने अठोटका साथ आन्दोलनमा जनताको सहभागिता भएपछि कर्फ्यु तोड्दै देशभर जनता आन्दोलित भए ।
चैत २६ गते राति निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य भएको घोषणा र २७ गते खुला मञ्चमा विजय दिवस मनाइएको थियो ।










