माओवादी जागरण अभियान सुरु गर्न मंगलबार चन्द्रागिरि आउँदै प्रचण्ड
थानकोट ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भाेलि मंगलबार चन्द्रागिरि आउँदैछन् ।
नेकपा (माओवादी केन्द्र) को १ महिने उपत्यका जागरण अभियानको शुभारम्भ गर्न भोलि जेठ २० गते प्रचण्ड चन्द्रागिरि-७ स्थित ग्रिनल्याण्ड ब्यान्क्वेट आउन लागेका हुन् ।
पूर्वनिर्धारित थानकोट काेतघरमा हुने भनिएको उक्त कार्यक्रम ग्रिनल्याण्ड ब्यान्क्वेटमा दिउँसो १२ बजे हुन लागेको र सो कार्यक्रममार्फत माओवादीको १ महिने उपत्यका जागरण अभियानको प्रचण्डद्वारा शुभारम्भ गरिने नेकपा माओवादी केन्द्र चन्द्रागिरि नगर कमिटीका अध्यक्ष गोपी सुर्खेतीले जानकारी दिए।
पछिल्लो समय काठमाडौं उपत्यकाका मूलबासी नेवा: तथा तामाङ समुदायसँग पार्टीको संवाद र सम्पर्कमा केही दूरी महसुस भएको र आफूले २०६४ को संविधान सभाको निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १० बाट उम्मेदवारी दिएको र यहाँका जनताले अत्यधिक मतका साथ विजयी गराएको भएपनि पछिल्लो समय यस क्षेत्र र पुरै उपत्यकाको सन्दर्भमा यथोचित योजना अनुसार कार्य गर्न नसकेको स्विकार्दै प्रचण्डले आगामी दिनमा विगतका तमाम् त्रुटीहरूलाई सच्याउँदै अगाडि बढ्ने प्रतिबद्धता अनुरूप पार्टीले १ महिने उपत्यका जागरण अभियान सञ्चालन गर्न लागेको बताएका छन् ।
चन्द्रागिरिबाट सुरु गर्न लागिएको १ महिने उपत्यका जागरण अभियानको औपचारिक कार्यक्रम सुरु हुनुअघि चन्द्रागिरिका विभिन्न वडाहरूबाट र्याली समेत निकालिने बताइएको छ ।












