थानकोट-नागढुङ्गा-सिस्नेखोला सडक सुनसान, पेट्रोलपम्पदेखि खुद्रा पसलमा समेत प्रभाव

Thankot Times

थानकोट ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा सवारी साधनको चाप बढ्दै गर्दा काठमाडौँबाट पृथ्वी राजमार्गलाई जोड्ने थानकोट नागढुङ्गाको पुरानो सडक भने हिजोआज सुनसादेखिएको छ ।

अहिले कलङ्कीबाट छुटेर उपत्यकाबाहिर जाने अधिकांश सवारीसाधनले सुरुङमार्ग प्रयोग गर्ने गरेका छन् । कलङ्की हुँदै जाने सवारीसाधन बलम्बुबाट छुट्टिएर सुरुङमार्फतर्फ प्रवेश गर्छन् । केही सवारीसाधन भने कलङ्कीबाट नैकाप, दहचोक हुँदै सुरुङमार्गतर्फ जाने गर्छन् ।

सुरुङमार्गबाट बाहिरिने र भित्रिने सवारी साधनलाई न्यूनतम ६० रुपियाँदेखि छ सय रुपियाँसम्म दस्तुर तोकिएको छ । जुन पूर्ण रूपमा कार्यान्वयनमा भने आइसकेको छैन्। पुरानो सडक भएर हिँड्दा इन्धन र समयसमेत बढी लाग्ने भएका कारण सवारीसाधन सुरुङमार्ग भएरै गुड्ने गरेका छन् ।

२.६८ किलोमिटर लम्बाइ भएको सुरुङमार्ग छिचोल्न सातदेखि १० मिनेट समय लाग्ने गर्छ तर सिस्नेखोलादेखि थानकोट हुँदै आउने बलम्बुसम्मको सडकको दुरी आठ किलोमिटर छ भने यो बाटो उकालो भएका कारण समय र इन्धनसमेत धेरै लाग्ने गर्छ तर पछिल्लो समय यो ठाउँमा पनि सडक फराकिलो बनाइएको छ भने पूर्ण रूपमा कालोपत्रे गरिएको छ ।

सवारीसाधन बलम्बुबाट मोडिए पनि सुरुङ भने दहचोकको टोटीटोलबाट मात्रै सुरु हुन्छ । बलम्बुदेखि सुरुङमार्ग हुँदै सिस्नेखोलासम्मको दुरी भने पाँच किलोमिटर रहेको छ ।

जेनतेन सबै जसो सवारीसाधन बलम्बुसम्म पुग्ने गरे पनि त्यहाँबाट सुरुङमार्गतर्फ मोडिन थालेपछि यसअघि प्रयोगमा आएको पुरानो सडकमा सवारीसाधन मात्रै घटेका छैनन्, बजारसमेत सुनसान हुन थालेको छ । यसको प्रभाव स्थानीय पसलेको व्यापारमा समेत पर्न थालेको छ ।

सवारी आवातजावत घटेसँगै मान्छेको हिँडडुलमा पनि कमी आउँदा पसलेको आम्दानी घटेको छ । सुरुङमार्ग सञ्चालनमा आउनुअघि सवारीसाधनको निकै चाप हुने नागढुङ्गा चेकपोस्टसमेत अहिले शान्त देखिन्छ । त्यहाँ सवारी चेकजाँचका लागि खटाइने सुरक्षाकर्मीको सङ्ख्या घटाइएको छ । सवारीसाधन नै नगुड्ने भएपछि त्यहाँ खटिने सुरक्षाकर्मीले समेत फुर्सद पाएका छन् ।

नागढुङ्गामा सवारीसाधनको चेकजाँचमा खटिएका नेपाल प्रहरीका एक जवानले भन्नुभयो, “कहिलेकाहीँ स्थानीय रुटमा सवारीसाधन आउँछ । नत्र भने यो नाका अहिले सुनसान जस्तै छ ।” सुरुङमार्गको प्रवेशद्वारमा कुनै जाम वा अन्य समस्या देखियो भने चाहिँ सवारीसाधन पुरानै बाटो भएर गुड्ने गरेको सुरक्षाकर्मीको भनाइ छ ।

सुरुङमार्गबाट पैदलयात्री, दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधन, प्रज्वलनशील पदार्थ बोकेको सवारीसाधनलाई भने प्रवेश निषेध गरिएको छ । यी साधन भने पुरानै बाटो भएर गुड्ने गरेका छन् तर पनि यात्रुवाहक सवारीसाधन नगुड्ने भएपछि सडक निकै शान्त देखिन्छ ।

साथै यात्रुवाहक सवारीसाधन नगुडेपछि मोटरसाइकलचालकलाई समेत निकै राहत भएको छ ।

कुनै अवरोधबिना मोटरसाइकल चलाउन पाउँदा चालक पनि प्रसन्न देखिन्छन् । “विगतमा सवारी चाप बढ्दा जाम हुने र मोटरसाइकल चलाउन पनि समस्या पर्दथ्यो । अहिले त यो बाटो काठमाडौँमा कफ्र्यु लागेको समयको जस्तै सुनसान देखिँदो रहेछ,” चितवनबाट मोटरसाइकलमा राजधानी प्रवेश गर्दै गरेका राजीव सिलवालले भन्नुभयो, “हामीलाई सुरुङमार्गमा छिर्न नदिए पनि यताको बाटो सहज रहेछ । खुुसी लागेको छ ।”२०७६ साल कात्तिक ४ गते शिलान्यास गरिएको यो सुरुङमार्ग २०८३ साउन ११ गते उद्घाटन गरिएको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *