आज संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

Thankot Times

थानकोट ।

संघीय संसद्को दुवै सदनको बैठक आज मंगलबार बस्दै छ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्नेछ । 

प्रतिनिधि सभाको आजको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । 

बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 

विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले जानकारी गराउने कार्यसूचीमा उल्लेख छ । 

राष्ट्रिय सभाको बैठकमा उपप्रधानमन्त्री एवं अर्थ मन्त्री पौडेलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको ‘भन्सार विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा प्रतिनिधिस भाबाट प्राप्त भएको संशोधनमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

‘प्रतिनिधि सभाबाट प्राप्त भएको संशोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्तावसमेत सभामा प्रस्तुत गर्ने कार्यसूची छ । 

संविधानसभा सदस्य तथा प्रतिनिधि सभाका पूर्वसदस्य गणेशवहादुर खड्काको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *