मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक

Thankot Times

थानकोट ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले यही जेठ २६ गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका छन् ।

बुधबार पत्रकार सम्मेलनमार्फत उनले सरकारले कैलालीको लम्कीचुहा अस्पताललाई १५ शय्याबाट ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकारले सञ्चालन गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारले २०८२ जेठ ३१ गतेदेखि असार ६ गतेसम्म इजरायलमा आयोजना हुने ‘मुनि वर्ल्ड एक्स्पो–२०२५’ मा राष्ट्रिय योजना आयोगका सदस्य डा. जयबहादुर टण्डनलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको उनले जानकारी दिए । 

आगामी असार १० देखि १२ सम्म चीनको बेइजिङमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको वार्षिक बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

आगामी असार २ गतेदेखि ६ गतेसम्म ल्हासामा आयोजना हुने नेपाल–चीनको सिजाङ (तिब्बत) व्यापार सहजीकरण समितिको १३ औं बैठकको छलफलको एजेन्डा स्वीकृत गर्ने र उल्लिखित बैठकमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिए ।

त्यसैगरी निर्माण व्यवसायसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने, नेपाली सेनाका एक जना महासेनानीको सरुवा गर्ने, एक जना सहायक रथीको राजीनामा स्वीकृत गर्ने, चार जना प्रमुख सेनानीहरूको महासेनानी दर्जामा बढुवा गरी पदस्थापन गर्ने र एक जना रथीको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय भएको पनि उनले बताए ।​ 

मन्त्रिपरिषद्कै निर्णयमा प्राचीन स्मारक संरक्षणसम्बन्धी विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, शान्तिनगर गाउँपालिका दाङको केन्द्र वडा नम्बर ४ चिराघाटबाट परिवर्तन गरी वडा नम्बर ४ जुम्लेकुला कायम गर्ने, महालक्ष्मी नगरपालिका ललितपुरको केन्द्र वडा नम्बर ४ कमलपोखरीबाट परिवर्तन गरी वडा नम्बर ८ लुभु देवीस्थान कायम गर्ने उल्लेख छ ।

नेपाल स्वास्थ्य सेवाको अधिकृत बाह्रौं तह, अतिरिक्त स्वास्थ्य सचिव पदमा डा. केशरबहादुर ढकाल र डा. श्रीकृष्ण श्रेष्ठलाई बढुवा गर्ने र नेपाल गुणस्तर (प्रमाण चिह्न) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गर्ने सरकारको निर्णय रहेको मन्त्री गुरुङले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *