६ टनभन्दा बढी अवैध कोइलासहित नागढुङ्गा नाकाबाट दुई जना पक्राउ
थानकोट ।
जिल्ला प्रहरी परिसर काठमाडौँले ठूलो परिमाणको काठको अवैध कोइलासहित दुई जना मानिस र एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।
मंगलबार बेलुकी चन्द्रागिरि नगरपालिका वडा नं. २ स्थित नागढुङ्गा चेक प्वाइन्टमा प्रहरीले उनीहरूलाई समातेको हो ।
कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको बा प्र.०१–००७ ख ०५९२ नम्बरको ट्रकलाई प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले रोकेर चेकजाँच गरेको थियो । उक्त ट्रकमा जाँच गर्ने क्रममा बिना इजाजत ओसारपसार गरिएको ६ टन ९५० केजी अवैध काठको कोइला फेला परेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको उक्त कोइलाको बजार मूल्य अन्दाजी ५ लाख ५६ हजार रुपैयाँ बराबर रहेको छ । अवैध कोइलासहित प्रहरीले दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. ७ बस्ने ३६ वर्षका शिवराज चौधरी र कपिलवस्तु जिल्लाको विजय गाउँपालिका वडा नं. ३ बस्ने २६ वर्षका कमल किशोर केवटलाई नियन्त्रणमा लिएको छ ।
कोइला ओसारपसारमा प्रयोग गरिएको ट्रकसहित दुवै जनालाई आवश्यक कानुनी कारबाही अगाडि बढाउनका लागि जिल्ला वन कार्यालय पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं सूचना अधिकारी, प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन् ।









