रसुवा बाढीपछि काठमाडाैं जोड्ने सडक बन्द, इन्धनको अभाव हुन नदिन कस्तो छ तयारी ?
थानकोट ।
गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण त्रिशूली नदिमा बढेको पानीको बहावले गल्छी, धार्केलगायतको सडक अवरुद्ध हुन पुगेको छ।
जसका कारण काठमाडौंबाट धादिङ हुँदै चितवन भएर निस्किने सवारी साधन काठमाडौंमै रोकिएका छन् भने चितवन, धादिङ हुँदै काठमाडौं आउने सवारीसाधन चितवनतिरै रोकिएका छन्।
नदीमा बढेको बाढीको बहाव सडक किनारसम्मै पुग्ने देखिएपछि सरकारले सवारीसाधन जहाँ पुगेका छन्, त्यही रोक्न लगाएको थियो। जसका कारण इन्धन आपूर्ति गर्ने सवारीसाधन पनि रोकिएका छन्। नेपाल आयल निगमका अनुसार अमलेगञ्जबाट लोड भएर थानकोट आउने इन्धन भरेका ट्यांकर पनि ठाउँठाउँमा रोकिएका छन्।
बिहीबार निगमको थानकोट कार्यालयमा पुग्नुपर्ने पेट्रोलका ट्यांकर ५५ वटा रहेकामा १२ वटा मात्रै पुगेका छन्। त्यस्तै ४० वटा ट्यांकर डिजेलका थानकोट पुग्नुपर्नेमा ४ वटामात्रै पुगेका छन्।
बाँकी ट्यांकर विभिन्न ठाउँमा रोकिएका छन्। थानकोट आउने ८ वटा ट्यांकर विशालटारमा, ६ वटा बैरेनीमा र ६ वटा चरौदीमा रोकिएका छन्। सबै ट्यांकर २०–२० किलोलिटर क्षमताका हुन्।
अन्य ट्यांकर चितवन नपुग्दै विभिन्न ठाउँमा रोकिएका बागमति प्रादेशिक कार्यालय थानकोट प्रमुख जगदीशचन्द्र यादव बताउँछन्।
पुग्नुपर्ने ट्यांकर नपुगे पनि थानकोटमा रहेको भण्डारणले पेट्रोल पम्पहरुलाई उपलब्ध गराउन कुनै कठिनाइ नरहेको उनको भनाइ छ। ‘काठमाडौं बाहिर जाने ठूला सवारीसाधन रोकिएका छन्,’ उनले भने, ‘सवारीसाधनको मुभमेन्ट त्यति धेरै नभएकाले माग नै त्यति धेरै छैन। र आपूर्तिमा कुनै कठिनाइ छैन।’
उनका अनुसार बुधबार थानकोटबाट डिजेल विक्री ६८० किलोलिटर र बिहीबार ९७६ किलोलिटर रहेको छ। त्यस्तै पेट्रोलको विक्री बुधबार ८१५ किलोलिटर र बिहीबार १३७६ किलोलिटर छ।
सो माग सामान्य अवस्थाकै हाराहारीको रहेको उनको भनाइ छ। ‘शुक्रबार, शनिबार र आइतबार सार्वजनिक बिदा परेर यति माग आएको हो,’ उनले भने, ‘नत्र सडक जाम भएकाले ठूला गाडीहरु प्रयोगमा नरहेकाले विक्री त्यति धेरै छैन।’
बिहीबार पेट्रोल पम्पहरुबाट आउनसक्ने सम्भावित मागका लागि थानकोट डिपो राति १० सम्म खुला राखिएको छ।
डिपो प्रमुख यादव, वितरण विभाग प्रमुख सन्दी बराललगायत अधिकारी राति १० बजेसम्मै कार्यालयमा बसेर आपूर्ति सहज राख्ने प्रयास गरिएको बताइएको छ।
मुलुकभर सबैभन्दा बढी पेट्रोल डिजेल काठमाडौं उपत्यकालगायत बागमति प्रदेशमै हुने गरेको छ। साथै बाढी प्रभावित रसुवा, नुवाकोटलगायत जिल्लामा समेत थानकोटबाटै आपूर्ति हुने गरेको छ।
थानकोटमा मधेश प्रादेशिक कार्यालय अमलेगञ्जबाट आउने गरेको छ। अमलेगञ्जबाट थानकोटसहित धादिङ, चितवन, नुवाकोट, लमजुङ, गोरखा, तनहुँमा समेत पेट्रोल डिजेल आपूर्ति हुँदै आएको छ।
थानकोटको क्षेत्राधिकारबाहेकका जिल्लामा अमलेगञ्जबाट सिधै पम्पहरुमा पेट्रोलियम पदार्थ ढुवानी हुँदै आएको छ। अमलेगञ्ज कार्यालय प्रमुख अशोक साहले पम्पहरुबाट कुनै पनि गुनासो नआएकाले आपूर्ति सहज रहेको बताए।
‘अमलेगञ्जबाट बिहीबार पनि ५० ट्यांकर पेट्रोल र ४६ ट्यांकर डिजेल लोड भएर विभिन्न जिल्लामा गएको छ,’ उनले भने, ‘कुनै पनि जिल्लाका पम्पहरुले रोकिएको वा पुगेको गुनासो गर्नुभएको छैन। यसको अर्थ आपूर्तिमा कुनै कठिनाइ छैन।’











