दसैंको टीका लगाउँदा कता फर्किने ?
थानकोट ।
बडादशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ ।
नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार आज बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जन गरेपछि टीका लगाउन सकिन्छ । तर उत्तम साइत खोज्नेहरुका लागि समितिले १० बजेर २६ मिनेट तोकिदिएको छ ।
दक्षिणतिर फर्किएर पितृकर्म मात्रै गरिने भएकाले दशैंको टीका लगाउँदा दक्षिण फर्किने चलन छैन । कतिपयले चन्द्रमा हेरेर साइतका आधारमा पनि टीका लगाइदिने र थाप्ने दिशा तय गर्छन् । तर त्यति विस्तृत रुपमा जाने चलन छैन ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैंको टीका लगाइमाग्ने व्यक्ति पश्चिम र लगाइदिने व्यक्ति पूर्व फर्किनुपर्ने जनाएको छ ।














