नागढुंगा-नौबिसे सुरुङमार्ग: मुख्य सुरुङ खन्ने काम ६५% सकियो

Thankot Times

थानकोट ।

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाको मुख्य सुरुङ खन्ने काम ६२.३० प्रतिशत सकिएको छ।

नागढुंगा सुरुङमार्ग आयोजनाले सार्वजनिक गरेको हालसम्मको प्रगति विवरण अनुसार मंगलबारसम्म इभ्याकुएसन र मुख्य सुरुङ गरी ३५ सय ९३ मिटर मुख्य सुरुङ खन्ने काम पुरा भएको छ। आयोजनाले यसको प्रगति विवरण हरेका महिना सार्वजनिक गर्ने गरेको छ।

काठमाडौंतर्फ मुख्य सुरुङ ७८३.४० मिटर र इभ्याकुएसन ९६६.९० मिटर पुरा भएको आयोजनाले जनाएको छ। धादिङतर्फ ८१०.४० मिटर मुख्य र ८३२.५० मिटर इभ्याकुएसन टनेल खन्ने काम पूरा भएको छ। धादिङतर्फ १ सय २६ मिटर अडिट टनेल पूरा भएको छ भने ७४.२० मिटर क्रस प्यासेज निर्माण भएको छ।

इभ्याकुएसन टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुनेगरी बनाइने सुरुङ हो। यसरी समानान्तर हुनेगरी खनिने स्केप टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज) ले मुख्य सुरुङसँग जोड्छ।

सुरुङमार्गको फिनिसिङको काम पनि दुवैतर्फबाट भइरहेको आयोजनाले जनाएको छ। उक्त प्रगति विवरण अनुसार फिनिसिङको लागि कंक्रिट लाइनिङ गर्ने काम २८.२० प्रतिशत अर्थात ७९३.९० मिटर सकिएको छ। आयोजनाले हरेक महिना यसको काम १ सय मिटर पुरा गर्ने गरेको छ।

आयोजनाका अनुसार अहिले टनेलको भित्रका कामलाई मुख्य प्राथमिकता दिएर धमाधम अघि बढाइएको छ। मुख्य सुरुङको काम फिनिसिङ भइरहेको छ। दुवैतिर गरी करिब ६ सय जनाले काम गरिरहेका छन्।

सुरुङमार्ग बाहिर एप्रोच सडक निर्माणको काम भइरहेको छ। काठमाडौंतिर ओभर पास निर्माण सकिएको छ। बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको छ। मुआब्जा वितरण कार्य लगभग अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।

४४ महिनामा यो आयोजना सक्ने गरी २०७६ कात्तिकबाट काम सुरु भएको थियो। जसको आधा अवधि (३५ महिना) बितेको छ। अब सम्झौता अनुासर ६ महिना बाकी रहेको छ। काम सुरु गरेको हिसाबले ८० प्रतिशत अवधिभन्दा धेरै समय सकिएको छ। प्रगतिको हिसाबले भौतिक प्रगति आधा जति पनि भएको छैन।

आयोजनाको हालसम्म सम्पूर्ण भौतिक प्रगति ४४ प्रतिशत मात्र सकिएको अवस्था छ। यस्तै आर्थिक खर्च ४७ प्रतिशत अर्थात साढे १० अर्ब रुपैयाँ सकिएको छ। यस्तै माटो भर्ने काम ५५ प्रतिशत र पहँच मार्ग निर्माण ७६ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *