नेपाल उमा कुङ फु संघ काठमाडौं जिल्ला अध्यक्षमा विष्णु ठकुरी
थानकोट ।
विष्णु ठकुरी नेपाल उमा कुङ फु संघको काठमाडौं जिल्ला समितिको तदर्थ समिति अध्यक्ष चुनिएका छन् ।
शनिबार काठमाडौंको सामाखुसीमा सम्पन्न संघको भेलाले काठमाडौं जिल्लामा उमा कुङ फुको संगठन विस्तार तथा खेलाडीको विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो।
कार्यक्रममा काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइ कृष्ण बलामी, नेपाल उमा कुङ फु संघका केन्द्रीय पदाधिकारीसहित भक्तपुर, ललितपुर तथा अन्य जिल्लाका अध्यक्ष तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
भेलामा सहभागी वक्ताहरूले उमा कुङ फु खेलको विकास, खेलाडी उत्पादन, प्रशिक्षणको विस्तार तथा जिल्लास्तरमा खेलकुद गतिविधिलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका थिए।
नवनिर्वाचित तदर्थ समितिले काठमाडौं जिल्लामा उमा कुङ फुको संस्थागत विकाससँगै नियमित प्रशिक्षण, प्रतियोगिता आयोजना तथा प्रतिभावान खेलाडीलाई अवसर सिर्जना गर्ने कार्यलाई प्राथमिकतामा राख्ने बताइएको छ।
कार्यक्रममा केन्द्रीय पदाधिकारी तथा विभिन्न जिल्लाका प्रतिनिधिहरूले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिँदै काठमाडौंमा उमा कुङ फुको विकासका लागि आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।











