पिपलामोड-दुवाकोट सिधा बससेवाको सुरूवात
थानकोट ।
बुधबार बिहान चन्द्रागिरि नगरपालिका-२ पिपलामोडका स्थानीयहरू बा ५ ख ४२९४ नम्बरको यात्रुबसकाे वरपर उभिएका थिए । भीडमा रहेका अधिकाशंले हातमा मोबाइल लिएर फोटो खिच्न तयार भएको संकेत गर्दै थिए ।
वडाध्यक्ष भाइकृष्ण तामाङले बसको ढोकामा टाँगिएको रातो रिबन काटेसँगै त्यहाँ उपस्थित सबैले हर्ष विभोर भएको जनाउँदै तालीले स्वागत गरे । वडाध्यक्ष तामाङले बसका चालक र सहचालकलाई खादा लगाइदिए । अनि सुरू भयो पिपलामोडबाट दुवाकोटसम्मको यात्रु बस सेवा ।
नियमित यात्रुबस सेवा नपाउँदा लामो समयदेखी हैरानी भोग्दै आएका चन्द्रागिरि नगरपालिका-२ पिपलामोडका स्थानीयहरूले बुधबारबाट नियमित बस सेवा पाएका छन् ।
बुधबार बिहान पिपलामोडमा चन्द्रागिरि नगरपालिका वडा नं. २ का वडाध्यक्ष भाइकृष्ण तामाङले पिपलामोडबाट भक्तपुरको दुवाकोटसम्म सञ्चालन हुने रिद्धि सिद्धि यातायातको शुभारम्भ गरेसँगै स्थानीयहरूले लामो समयदेखि भोग्दै आएको समस्या तत्कालका लागि हल भएको हो ।
हाल दैनिक ५ वटा बसले पिपलामोडबाट भक्तपुर दुवाकोटसम्म बिहान ५ बजेबाट सेवा दिनेछन्, यो संख्या अपुग भएमा बसको संख्यामा वृद्धि गरिने वडाध्यक्ष तामाङले जानकारी दिए ।













