पूर्वाधार विकास समितिको बैठकमा पुग्यो मातातिर्थका स्थानीय हाइटेन्सन लाइनबाट पीडित भएको विषय

Thankot Times

थानकोट ।

प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले विकास निर्माणमा हुने प्रशासनिक ढिलासुस्ती, अन्तर–निकाय समन्वयको अभाव र आयोजनाका कारण सर्वसाधारणले भोग्नुपरेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रवार बसेको समितिको बैठकमा सांसदहरूले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुन नसक्दा राज्यले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै जिम्मेवार पदाधिकारीमाथि कारबाहीको माग गरे । बैठकमा रास्वपाका सांसद प्रदीप विष्टले कुलेखानी जलविद्युत आयोजनाको प्रसारण लाइनका कारण चन्द्रागिरि नगरपालिका–८ का स्थानीय बासिन्दा प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले कुलेखानी १ र २ बाट उत्पादित विद्युत काठमाडौं ल्याउने क्रममा बस्ती क्षेत्रमा गम्भीर समस्या उत्पन्न भएको बताए । सुरुमा वन क्षेत्रबाट लैजाने भनिएको प्रसारण लाइन पछि बस्तीको बीचबाट लगिएको उनको भनाइ छ ।

सांसद विष्टका अनुसार हाल उक्त क्षेत्रमा करिब १५ सय घरधुरीका १५ सय रोपनीभन्दा बढी जग्गा प्रसारण लाइनका कारण प्रभावित भएका छन् । पञ्चायतकालमा पोल गाड्न सामान्य मुआब्जा दिइए पनि त्यसपछि तार तान्ने क्रममा स्थानीयलाई जानकारी नदिइएको र उचित क्षतिपूर्ति नदिइएको उनले बताए ।

‘प्रसारण लाइनमुनि परेको कारण स्थानीयले बैंकमा जग्गा धितो राख्न पाएका छैनन्, अंशबन्डा र किनबेचमा समेत समस्या छ । विडम्बनाको कुरा, ती घरहरूमा नगरपालिकाले खानेपानी र विद्युत् जडानमा समेत रोक लगाएको छ,’ उनले भने ।

सांसद विष्टले विकास निर्माणका क्रममा जनताको सम्पत्ति र अधिकारको समेत संरक्षण गर्नुपर्नेमा जोड दिँदै यस विषयमा तत्काल ठोस निर्णय लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सम्बन्धित निकायलाई आग्रह गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *