वाडभञ्ज्याङ्गमा ठडियो १५ सय केजीको चण्डीकादेवीको प्रतिमा
थानकोट ।
चन्द्रागिरि नगरपालिका वडा नंं-२ वाडभञ्ज्याङ्गमा चण्डीकादेवीको प्रतिमा अनावरण गरिएको छ ।
बागमती प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले शनिबार एक कार्यक्रमका बीच १ हजार ५ सय केजी ताैल भएको देवीको प्रतिमा अनावरण गर्नुभएको हो ।
सो क्रममा प्रदेश सांसद् रमा आलेमगर, यमुनादेवी श्रेष्ठ, विन्दु श्रेष्ठ, चन्द्रागिरि नगरका मेयर घनश्याम गिरी, उपमेयर बसन्ती श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
चण्डीकादेवीको प्रतिमा अनावरण समारोहमा संक्षिप्त मन्तव्य राख्नुहुँदै नगरप्रमुख घनश्याम गिरीले चन्द्रागिरि नगर धार्मिक पर्यटनको अनुपम गन्तव्य बन्दै गएको बताउनुहुँदै चन्द्रागिरि नगरपालिका-२ का विभिन्न स्थानहरूमा पर्यटकीय गतिविधि बढाउनका लागि नगरपालिकाले विशेष कार्ययोजना अघि ल्याएको बताउनुभयो । नगरप्रमुख गिरीले मसिने क्षेत्रमा मसिने होमस्टे सुरू भएपश्चात यस स्थानमा आन्तरिक पर्यटकहरूको चहल पहल बढ्नेमा आफू विश्वस्त रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै सांसद् रमा आलेमगरले वाँडभञ्ज्याङ क्षेत्रको विकास नै समुन्नत चन्द्रागिरि बनाउने प्रमुख आधार रहेको धारणा राख्नुभयो । त्यस्तै, कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेश सरकारका भाैतिक पूर्वाधार विकास मन्त्री युवराज दुलालले ग्रामिण पर्यटनको विकास लागि समुदाय स्तरबाट नै पहल गरिनुपर्नेमा जोड दिनुभयो । सो क्रममा मन्त्री दुलालले नगरपालिका शब्द आफैंमा पूर्ण नभएको बताउनुहुँदै संघीय संरचनामा मुलुक रूपान्तरण भएपनि गाउँ विकास समिति र नगरपालिका हुँदाका बखत रहेको जीवनस्तरमा कुनै फरक नभएकोले आम देशबासीहरूको जीवन स्तर उकास्नका लागि पर्यटन महत्वपूर्ण क्षेत्र हुनसक्ने बताउनु भयो ।
चण्डीकादेवी धार्मिक पर्यटन पूर्वाधार उपभोक्ता समितिको अगुवाईमा निर्माण भइरहेको सो मन्दिरमा अझै भाैतिक संरचनाहरूको निर्माण बाँकी रहेको उपभोक्ता समितिले जनाएको छ ।
१६ औं शताब्दीको माैलिक कलाकृतिको प्रतिकको रूपमा कलाकार देवेन्द्र पाण्डेले सो मूर्ति ८ महिना लगाएर निर्माण गर्नुभएको हो । जसको उचाइ १० फिट रहेको छ भने सो निर्माणका लागि मात्रै २७ लाख खर्च भएको जनाइएको छ । प्रतिमा स्थापनाका लागि चन्द्रागिरि नगरपालिकाले वडा कार्यालयमार्फत ३५ लाख उपलब्ध गराएको हो भने हालसम्म ४२ लाख रूपैयाँ खर्च भइसकेको जनाइएको छ ।














