मनकामना केबुलकार चढ्नेको संख्या हालसम्मकै उच्च, जेठ महिनामा मात्रै डेढ लाख जनाले लिए सेवा
थानकोट ।
नेपालको पहिलो केबुलकार सेवा मनकामना केबुलकार चढ्ने यात्रुहरूको औसत संख्या दैनिक ४ हजार ७ सय भन्दा धेरै पाइएको छ ।
मनकामना दर्शन प्रालिद्वारा प्रवर्द्धित सो केबुलकार हुँदै यस वर्षको दोश्रो महिनामा १ लाख ५० हजार जनाले यात्रा गरेको कम्पनीले जनाएको छ। यो संख्या मनकामना केबुलकार सञ्चालनको २५ वर्षे इतिहासकै सबैभन्दा धेरै रहेको कम्पनीले जनाएको छ ।
गत बैशाख महिनामा कोरोना भाइरस महामारीपछि पहिलोपटक सबैभन्दा धेरै यात्रुले केबुलकारबाट यात्रा गरेका थिए । सो महिना १ लाख २६ हजार ३ सय ३८ जनाले केबुलकारबाट यात्रा गरेका थिए ।
कम्पनीका प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठका अनुसार जेठ महिनामा सो संख्या करिब २४ हजारले बढेको छ ।
प्रबन्ध निर्देशक श्रेष्ठका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा १० लाख २१ हजार २ सय ३९ यात्रीहरूले केबुलकार सेवा लिएका छन् । जसमध्ये ७ लाख ५ हजार ५ सय ९३ जना नेपाली तथा २ लाख ६९ हजार ७ सय ६० जना भारतीय मुलका नागरिकहरूले मनकामना केबुलकारको सेवा लिएका छन् ।
पछिल्लो समय मनकामना दर्शनका लागि केबलकार हुँदै गोरखा उक्लने भारतीय पर्यटकहरूको संख्यामा वृद्धि भइरहेको छ ।












