नागढुंगा सुरूङ मार्गको मुख्य सुरुङ खन्न अब ७८६ मिटर बाँकी
थानकोट।
नागढुंगा सुरुमार्गको मुख्य सुरुङ खन्ने कामको प्रगति ८५.७० प्रतिशत पुगेको छ।
५ हजार ४ सय ९९ मिटरमध्ये अब ७ सय ८६ मिटर मात्रै खन्न बाँकी छ।
काठमाडौंतर्फ मुख्य सुरुङ ९ सय ३७.८० मिटर र इभ्याकुएसन १ हजार २ सय ६६.७० मिटर पुरा भएको आयोजनाले मासिक प्रकाशन गर्ने प्रगति प्रतिवेदनले देखाएको छ। धादिङतर्फ ११३३.२० मिटर मुख्य र ११३८.१० मिटर इभ्याकुएसन टनेल खन्ने काम पुरा भएको छ।
धादिङतर्फ १ सय २६ मिटर अडिट टनेल पूरा भएको छ भने ११०.७० मिटर क्रस प्यासेज निर्माण भएको छ।
इभ्याकुएसन टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुनेगरी बनाइने सुरुङ हो। यसरी समानान्तर हुनेगरी खनिने स्केप टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज) ले मुख्य सुरुङसँग जोड्छ।
सुरुङमार्गको फिनिसिङको काम पनि दुवैतर्फबाट भइरहेको आयोजनाले जनाएको छ। आयोजनाका अनुसार फिनिसिङको लागि कंक्रिट लाइनिङ गर्ने काम ३५.९० प्रतिशत अर्थात ९६५.७० मिटर सकिएको छ।
आयोजनाले हरेक महिना यसको काम १ सय मिटर पुरा गर्ने गरेको छ। यो फिनिसिङ लाइनिङको काम पुरा भएको स्थानमा गाडी संचालन गर्ने सकिने अवस्थामा तयार पारिएको छ।
हालसम्म भौतिक रुपमा लगभग ५५.१३६ प्रतिशत काम सम्पन्न भएको छ। जसमा आर्थिक रुपमा ५८.७० प्रतिशत खर्च भइसकेको आयोजनाले जनाएको छ।
अहिले आयोजनाले निर्माण व्यवसायीलाई मासिक ५ करोडदेखि ६ करोडसम्म भुक्तानी गर्ने गरिएको छ। यसरी हालसम्म लगभग १२ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ। आयोजनाको म्याद एक वर्षको लागि थप भएको छ।
सन् २०२४ अप्रिल २५ सम्म म्याद थपिएको हो।
यसैगरी, फ्लाइओभर निर्माणको काम पनि धमाधम भइरहेको छ।
यस आयोजनामा निर्माण गर्न लागिएको फ्लाइओभर निर्माणको कामले पनि तीव्रता पाएको आयोजनाले जनाएको छ।
अहिले यस फ्लाइओभर निर्माणमा ३ वटा फाउन्डेसनको काम सम्पन्न भएको छ।
यस्तै ५ वटा सबस्ट्रक्चर निर्माण गर्नुपर्नेमा २ वटाको काम सम्पन्न भएको उक्त प्रतिवेदनमा उल्लेख छ। यसमा अहिलेसम्मको भौतिक प्रगति ५२ प्रतिशत सकिएको छ।
यसैगरी, ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ वटा साना पुलहरु निर्माण गर्ने काम सम्पन्न भइसकेको छ।
आयोजनाका अनुसार यसका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा वितरणको काम पनि ९६ प्रतिशत सम्पन्न भएको छ।
यो फ्लाइओभर काठमाडौंबाट सुरुङमार्ग जान र सुरुङमार्गबाट काठमाडौं आउनको लागि प्रयोग गरिन्छ। बीचमा फ्लाइओभर हुन्छ। फ्लाइओभरको दुबै साइडतिर भने सडक नै हुन्छ।
यही सडकले सब-वे जोड्ने काम गर्छ।
यस्तै थानकोटबाट जाने र छिर्ने बाटो भने फ्लाइओभरको दायाँ साइडबाट प्रयोग गरिन्छ।













