चन्द्रागिरि नगरपालिकाको वेभसाइटसहित नेपाल सरकारका सम्पूर्ण वेभसाइट डाउन
थानकोट ।
नेपाल सरकारका सम्पूर्ण वेबसाइट डाउन भएका छन् । मङ्गलबार बेलुकादेखि डट जीओभी डट एनपी डोमेन भएका सरकारी वेबसाइट एक्कासी खुल्न छोडेका हुन् ।
सिंहदरबारभित्र रहेको नेपाल विद्युत प्राधिकरणको ट्रान्सफर्मर बिस्फोट भएपछि सरकारको एकीकृत डेटा सेन्टर लगायतको सिस्टम डाउन हुन पुगेको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप पौडेलले जानकारी दिए । “आज बिहानै देखि बिजुलीको लाइन आउने जाने भइरहेको थियो,” उनले भने, “तर दिउँसो १ बजेतिर ठूलो आवाजसहित ट्रान्सफर्मर पड्केपछि जेनेरेटरको सहयोगमा डेटा सेन्टर तथा सर्भरहरू नियमित गरिरहेका थियौं ।”
जेनेरेटर समेत लामो समय सञ्चालन गर्दा जल्ने जोखिम बढेपछि बन्द गरिएको छ । “प्राधिकरणले एक दुई घण्टामा विद्युत नियमित हुन्छ भनेको थियो,” कार्यकारी निर्देशक पौडेलले अगाडि भने, “तर अहिलेसम्म पनि समस्या समाधान हुन सकेको छैन । सम्भवतः अबको आधा घण्टासम्ममा डेटा सेन्टर नियमित रूपमा सञ्चालनमा ल्याउने आशा गरिरहेका छौं ।”












