लगातारको वर्षाले गजुरीमा पहिरो खस्दा राजमार्ग अवरूद्ध, चन्द्रागिरि नगरको पछिल्लो अवस्था के छ ?
थानकोट ।
मंगलबार बिहानबाट देशका अधिकांश क्षेत्रमा वर्षा जारी छ ।
वर्षाका कारण नदीमा जल सतह बढ्दा काठमाडाैं उपत्यकाका विभिन्न क्षेत्र डुबानमा परेका छन् । प्रहरीले काठमाडाैं उपत्यकाका नदी करिडोर बाढीका कारण अवरूद्ध रहेकोले वैकल्पिक सडक प्रयोग गर्न सुझाव दिएको छ ।
वर्षासँगै पहिरो खस्दा बिहानबाटै अवरूद्ध मुग्लिन-नारायणगढ सडक खण्डमा केहीबेर अघिबाट यातायात सुचारू भएको छ ।
धादिङको गजुरीमा सडकमा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरूद्ध भएको छ जसका कारण राजधानी भित्रने प्रमुख सडक नाका नागढुंगामा यतिबेला सवारी चाप कम रहेको ट्राफिक प्रहरी पोष्ट नागढुंगाले जनाएको छ ।
प्रहरी वृत्त थानकोटका अनुसार मंगलबार बिहान १० बजेसम्म चन्द्रागिरि नगरक्षेत्रमा अविरल वर्षाका कारण कुनै उल्लेख्य क्षतिको अपडेट प्राप्त भएको छैन् । यद्यपी प्रहरीले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।














