बैशाख अन्तिम साताबाट नागढुङ्गा सुरुङमार्ग सञ्चालन गर्ने तयारी
थानकोट ।
नागढुंगा सुरूङमार्ग वैशाखको अन्तिम साताबाट सञ्चालनमा आउने भएको छ।
नागढुंगा सुरुङमार्ग आयोजनाका प्रमुख एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव सौजन्य नेपालका अनुसार यही वैशाख अन्तिम साताबाट परीक्षणकालको रूपमा सञ्चालन हुने तयार गरिएको छ।
साउनको पहिलो साताबाट व्यावसायिकरूपमा सञ्चालन गर्ने आयोजनाको तयारी भइरहेकाले सोहीअनुसार सेवा प्रदायक सञ्चालन कम्पनीले काम गरिरहेको उनले बताए।
परीक्षणकालको अवधिमा सुरुङमार्गभित्र गुडेका सवारी साधानले शुल्क बुझाउनु पर्दैन तर व्यावसायिक रूपमा सुरु भएपछि भने शुल्क बुझाउनुपर्ने हुन्छ।
भौतिक पूर्वाधार मन्त्रालयले सुरुङमार्गको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा चाइनिज कम्पनी युसिन एआरटी जेभीलाई दिएको छ। युसिन नेपाली कम्पनी हो भने एआरटी चाइनिज कम्पनी हो। टेन्डर प्रक्रियाबाट उक्त कम्पनी छनोट गरिएको हो। युसिन कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र तिमिल्सनाका अनुसार सुरुङमार्ग सञ्चालन गर्न एक सय ५० कर्मचारी चाहिने छन्। त्यसमध्ये चार जना कर्मचारी चिनियाँ हुनेछन्। ती चिनियाँ कर्मचारी प्राविधिक हुनेछन्। उनीहरूसँग यसअघि नै सुरुङमार्ग सञ्चालन गरेको अनुभव रहेको जनाइएको छ।
‘सुरुङमार्ग सञ्चालन गर्न हामीले चिनियाँ कम्पनीसँग साझेदारी गरेका छौं। त्यसैले यो हाम्रो लागि नयाँ अनुभव हो। अहिले हामी त्यसको तयारी तीव्रता साथ गरिरहेका छौ’, तिमिल्सनाले भने, ‘आगामी वैशाखको दोस्रो सातादेखि तेस्रो सातासम्म सुरुङमार्ग निर्माण गर्ने जापानी सहयोग नियोग जाइकाबाट सरसमान बुझिरहेका छौं।’
उनका अनुसार ९० दिनभित्र जाइकाले आफूहरूलाई प्रविधि हस्तान्तरण गरिसक्ने बताए। त्यसअनुसार सम्झौता पनि भएको उनको भनाइ छ। ‘यी सबै काम पूरा गरेर साउनको पहिलो साताभित्र व्यावसायिक रूपमा सुरुङमार्ग सञ्चालन गर्नेछौं’, उनले भने।
सुरुङमार्गबाट शुल्क उठाए बापत एआरटी युसिन कम्पनीले पाँच वर्षमा सरकारलाई एक अर्ब १० करोड रुपैयाँ राजस्व बुझाउने प्रतिबद्धता गरेको छ।
सुरुङमार्ग सञ्चालन गर्न सेवा प्रदायक छान्ने विषयमा नै केही महिना लम्बिएको थियो। यस कारण पनि सुरुङमार्ग सञ्चालन गर्न ढिलो भएको आयोजनाका कर्मचारी बताउँछन्।
गत पुस १७ गतेबाट सरकारले सुरुङमार्ग सञ्चालन गर्ने तयारी गरेको थियो तर विभिन्न कारण देखाउँदै सरकारले सुरुङमार्ग सञ्चालन गर्न मिति पर सार्दै गएको छ। यस पटक भने वैशाखको अन्तिम साताबाटै परीक्षणकालका रूपमा सुरुङमार्गभित्र सवारी साधन गुड्ने आयोजनाका कर्मचारीहरू बताउँछन्।
भौतिक पूर्वाधार मन्त्रालयका अनुसार सुरुङमार्ग सञ्चालन गर्न कार्यविधि बनाउने विषयमा पनि केही समय ढिलो भएको थियो। गत असोजमा मात्र सरकारले नागढुंगा सुरुङमार्ग सञ्चालन, व्यवस्थापन तथा मर्मतको लागि सेवा प्रदायक परिचालन गर्न टनेल सञ्चालन र व्यवस्थापन (टनेल अप्रेसन एन्ड मेनेजमेन्ट) कार्यविधि पास गरेको थियो।
सडक विभागका कर्मचारीका अनुसार सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौंबाट बाहिरिने र बाहिरबाट काठमाडौं भित्रिने सवारी साधनलाई थानकोट/नागढुंगामा घण्टौंसम्म जाममा बस्नुपर्ने बाध्यता हट्ने छ। सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले उक्त दूरी आधा घण्टामै पार गर्नेछन्। विभागका अनुसार सुरुङमार्गले साढे दुई किमि बाटो छोट्याउने छ । हाल बलम्बुदेखि सिस्ने खोलासम्मको दूरी ७.५ किमि छ। सुरुङमार्ग सञ्चालनमा आएपछि बलम्बुबाट सिस्ने खोलासम्मको दूरी पाँच किमिमा सीमित हुनेछ।
आयोजनका अनुसार एआरटी युसिन कम्पनीले नै सुरुङमार्गभित्र अक्सिजन, अग्नि नियन्त्रक, सुरक्षा, सञ्चारलगायतका सुविधा र शुल्क उठाउने व्यवस्था मिलाउनुपर्ने छ। सुरुङमार्गभित्र बिजुलीको व्यवस्था पनि शुल्क उठाउने कम्पनी/निकायले नै गर्ने छ। मन्त्रालयका एक कर्मचारीले यो सुरुङमार्ग नेपालको पहिलो अनुभव भएकाले कानुनको मस्यौदा गर्ने लगायतका तयारीमै केही समय अलमल भएको बताए।
ती कर्मचारीले भने, ‘यसबाट हामीले शिक्षा लिइरहेका छौं, अब नयाँलाई सजिलो हुने छ।’












