नक्कली नोट प्रकरणः मातातीर्थ बस्ने अर्जुनसहित ९ जना पक्राउ, प्रहरी वृत्त थानकोटले अनुसन्धान गर्दै

थानकोट ।

प्रहरीले करिब १५ लाख बराबरको नक्कली नोटसहित भक्तपुरबाट ९ जनालाई पक्राउ गरेको छ। बिहीबार बेलुकी भक्तपुरको चाँगुनारायणबाट १५ लाख नेपाली नक्कली नोटसहित ९ जनालाई पक्राउ गरिएको प्रहरीले बताएको हो।

प्रहरी वृत्त थानकोट र प्रहरी प्रभाग चाँगुनारायणको संयुक्त टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका-४ चाँगु बुढाथोकीगाउँबाट नक्कली नोट बरामद गरेको हो।प्रहरीका अनुसार सुवेदीको डेरामा उक्त गिरोहले नक्कली नोट छाप्ने कार्यसमेत गर्दै आएका थिए। प्रहरीले सो कोठाबाट कलर प्रिन्टर एक थान, कम्प्युटर एक थान, मोबाइल १२ थान र चार स्कुटरसमेत बरामद गरेको छ।

सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-६ घर भई हाल काठमाडौंको मूलपानी बस्ने २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी तथा सुनकोसी गाउँपालिका घर भई काठमाडौंको पेप्सीकोला बस्ने २६ वर्षीय सुशील कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।

यसैगरी नवलपरासीको सरावल गाउँपालिका-१ घर भई हाल काठमाडौं बस्ने पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका-२ घर भई हाल काठमाडौंको सामाखुसी बस्ने २७ वर्षीय सागर आचार्य, अछाम घर भई हाल काठमाडौंको मातातीर्थ बस्ने २३ वर्षीय अर्जुन बुढा तथा झापा घर भई हाल काठमाडौंको समाखुसी बस्ने २४ वर्षीय युवराज राईलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। बरामद गरिएका सबै सामग्री अनुसन्धानका लागि प्रहरी वृत्त थानकोट ल्याइएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *