नागढुंगामा लापसे चेकिङ, ७ जना चालक पक्राउ, पक्राउ पर्ने सबै ३५ वर्ष उमेर मुनिका
थानकोट ।
राजधानी काठमाडाैं भित्रने प्रमुख सडक नाका नागढुंगाबाट शुक्रबार लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ७ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्राफिक प्रहरीले बा २ ख ४०१७ नम्बरका माईक्रो चालक कास्कीको पोखरा महानगरपालिका १७ का २४ वर्षीय मिलन गिरी, ग १ ख २९७३ नम्बरका माईक्रो चालक पोखरा महानगरपालिका १ का ३५ वर्षीय मिन बहादुर तामाङ, बा ३ ख २१९५ नम्बरका माईक्रो चालक गोरखाका ३० वर्षीय हिमाल कोईराला, बा ५ ख २३७ नम्बरका बस चालक गोरखाको भिमसेनथापा गाउँपालिका ४ का २२ वर्षीय भुवन सुर्खेती, ना ७ ख १३८६ नम्बरका ट्रक चालक खोटाङ घर भएका ३२ वर्षीय कटक बहादुर मगर, लु २ ख ३३५२ नम्बरका ट्रक चालक पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ का ३३ वर्षीय पवन थापा र ना ५ ख ७७७५ नम्बरका ट्रक चालक धादिङको धुनिबेसी नगरपालिका ८ का ३० वर्षीय प्रजय कार्कीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरुलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट ल्याइएको छ ।
यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो ।
लागु पदार्थ सेवन गरि सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले सबैमा अनुरोध गरेको छ ।
सवारी साधनका चालकहरुले लागुऔषध सेवन गरी सवारी साधन चलाए नचलाएको सम्बन्धमा प्राविधिक टोली सहित टि.एच.सि. किटको प्रयोग गरी २०७९ साउन ९ गतेबाट ट्राफिक प्रहरीले चेकजाँच गर्दै आएको छ ।












