काठमाडौं उपत्यकामा वर्षा सक्रिय हुन अझै केही दिन लाग्ने
थानकोट ।
केही दिनदेखि काठमाडौंमा बिहानीपख हुस्सु र तुवाँलो लाग्दै आएको छ ।
आंशिक रूपमा आकाशमा बादलले ढाक्ने र अझै तुवाँलो बढ्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा पश्चिमी वायुको आंशिक प्रभावका कारण उच्च हिमाली भागमा हिमपात परेको महाशाखाले जनाएको छ । काठमाडौंको हकमा भने अब दैनिक रूपमा आकाशमा बादलले ढाक्ने र तुवाँलो बढ्ने महाशाखाकी वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार पानी नपरेकै कारण वायुमण्डलको तुवाँलोमा प्रदूषणका कणहरू बसेका छन् ।
काठमाडौंमा पानी पर्न अझै केही समय कुर्नुपर्ने जानकारी कँडेलले दिइन् । अहिले काठमाडौंको भिजिबिलिटी २५ सय मिटर मात्र रहेको महाशाखाले जनाएको छ । ‘ काठमाडाैंमा पानी पर्ने वातावरण अझै बनेको छैन, नजिकका अग्ला पहाडमा छिटपुट वर्षा हुनसक्छ,’ कँडेलले रातोपाटीसँग भनिन्, ‘आकाशमा बादल हुँदा हुस्सु कुहिरो हट्न समय लाग्छ ।’













