मौसमविद् भन्छन्- अब धेरै चिसो हुँदैन, गर्मी सुरु हुन्छ

Thankot Times

थानकोट ।

सोमबार काठमाडौंको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो । जल तथा मौसम विज्ञान विभागको तथ्यांकअनुसार मंगलबार न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियो । बुधबार (आज) बिहान ५ः४५ बजे काठमाडौंको तापक्रम ३.३ डिग्री सेल्सियस मापन गरिएको छ ।

तीन दिनयता काठमाडौंको तापक्रम लगातार घटे पनि यस वर्ष अब यो भन्दा धेरै तल जाने सम्भावना नरहेको मौसमविद् मीनकुमार अर्याल बताउँछन् । 

“बादल नलागेर मौसम क्लियर भएकाले तीन दिनदेखि तापक्रम घटेको हो तर अब यो वर्षकै सबैभन्दा कम चिसो हुने अवस्था छैन,” अर्यालले भने ।  

यो वर्ष न्यूनतम तापक्रम २.१ सम्म झरेको थियो । माघ १४ गते काठमाडौंको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन गरिएको थियो । 

“अब न्यूनतम तापक्रम धेरै घट्दैन । यो वर्षको हालसम्मको न्यूनतम तापक्रम २.१ भन्दा तल झर्ने सम्भावना कम छ,” मौसमविद् गोविन्द झा भन्छन्, “२.१ डिग्री नै पुग्ने सम्भावना कम हुन्छ ।” 

तीन/चार दिन लगातार झरी परेर चिसो हुँदा तापक्रम केही घट्ने सम्भावना हुने तर रेकर्ड नै ब्रेक हुनेगरी चिसो नहुने मौसमविद् अर्याल बताउँछन् । काठमाडौं र पहाडी भू–भागमा अब विस्तारै तापक्रम बढ्दै जाने उनको भनाइ छ । 

“उच्च पहाडी र हिमाली क्षेत्र जहाँ लगातार हिमपात भएर माइनसमा तापक्रम जान्छ, त्यहाँ भने भन्न सकिन्न,” उनी भन्छन्, “पश्चिमी वायु स्ट्रङ भएर पानी वा हिमपात भए हिमाली र उच्च पहाडी भू–भागमा थप चिसो पनि हुनसक्छ ।” 

अब विस्तारै तापक्रम बढ्दै जाने उनी बताउँछन् । जाडो सिजनको अन्मितिर आइपुगेकाले अब नयाँ प्रणाली विकास भएर बदली र वर्षा नै भए पनि न्यूनतम तापक्रम धेरै नघट्ने उनी स्पष्ट पार्छन् । “अब जाडो कम हुँदै गएर गर्मी हुँदै जान्छ भन्न सकिन्छ,” मौसमविद् अर्याल भन्छन्, बाह्रखरीमा समाचार प्रकाशित भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *