एसीसी महिला प्रिमियर कपः नेपालको दोश्रो जित, भुटान ८ विकेटले पराजित
थानकोट ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले भुटानलाई पराजित गरेको छ ।
आइतबार बिहान सम्पन्न आफ्नो दोश्रो खेलमा नेपालले भुटानलाई ८ विकेटले पराजित गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको भुटानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ६५ रन बनाएको थियो । भुटानकी ओपनर न्गावांग चोडेनले ५० बलमा १ चौकासहित सर्वाधिक २५ रन बनाएकी थिइन् ।
जितको लागि ६६ रनको सामान्य लक्ष्य नेपालले ११.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालकी ओपनर सीता रानामगरले ३७ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा नट आउट रहिन् । रुविना क्षेत्री २४ बलमा १ चौका र १ छक्कासहित १७ रनमा अविजित रहिन् ।
यसअघि पनि नेपालले हङ्कङलाई ८ विकेटको पराजय चखाएको थियो । नेपालले अन्तिम खेल मंगलबार माल्दिभ्ससँग खेल्नेछ ।













