ढुङ्गाअड्डामा ट्रिपरले मोटरसाइकललाई ठक्कर दियो, धादिङका युवाको ज्यान गयो
थानकोट ।
कलंकी-थानकोट सडकखण्डको ढुङ्गाअड्डा ओरालोमा शनिबार राति करिब ९:३० बजे ट्रिपरले मोटरसाइकललाई ठक्कर दिएपछि दुर्घटना भएको छ।
कलंकीतर्फ जाँदै गरेको बा प्र ०३ ०१ क १११३ नम्बरको ट्रिपरले बा ०२ ००२ प ०२९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
दुर्घटनामा मोटरसाइकल चालकको ज्यान गएको छ।
प्रहरीका अनुसार दुर्घटनामा सख्त घाइते भएका मोटरसाइकल चालक धादिङ ज्वालामुखीका २४ वर्षीय सुमन पुलामीको उपचारका क्रममा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा निधन भएको हो ।
मोटरसाइकलको पछिल्तिर सवार अर्का युवाको महांकालस्थानस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ।
यसैबीच दुर्घटनामा संलग्न भएको ट्रिपरका संचालक सम्पर्कमा नआएको भन्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।
उनीहरूले ट्रिपर संचालक पहिले पीडितको सम्पर्कमा आउनुपर्ने भन्दै शव पोस्टमार्टमका लागि लग्न स्वीकृति नदिएपछि पुलामीको शव कलंकीस्थित सहिद मेमोरियल अस्पतालमै राखिएको छ।
दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।













