चन्द्रागिरि-चित्लाङ-पालुङ-चितवन एक्सप्रेस वेमा लगानी गर्न कतार सरकारसँग आग्रह

Thankot Times

थानकोट ।

अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा भेटवार्ता गरेका छन् ।

दोहास्थित नेपाली दूतावासका अनुसार मंगलबार भएको भेटवार्ता सौहार्दपूर्ण वातावरणमा भएको थियो ।

भेटमा अर्थमन्त्री वाग्लेले भोटेकोसीमा आएको विनाशकारी बाढीपछि नेपाललाई सहयोग गरेकोमा कतार सरकारप्रति आभार व्यक्त गर्दै पुनर्निर्माणका लागि निरन्तर सहयोग गर्न आग्रह गरे । उनले कतारमा नेपाली समुदायका लागि रोजगारीका अवसर उपलब्ध गराएकोमा पनि धन्यवाद दिए ।

सन् २०२७ जनवरीदेखि नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुने अवसरलाई ध्यानमा राख्दै वाग्लेले तीनवटा परियोजनामा कतारी लगानीका लागि आग्रह गरेका छन् ।

उनले चन्द्रागिरि–चित्लाङ–पालुङ–चितवन एक्सप्रेस वे, नलसिंहगाड जलाशययुक्त जलविद्युत् आयोजना र सिम्बुवा खोला जलविद्युत् आयोजनामा कतारी लगानीका लागि आग्रह गरेका हुन् ।

सन् २०२४ मा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले नेपाल गरेको राजकीय भ्रमणको स्मरण गर्दै कतारका अर्थमन्त्री अल कुवारीले पुनर्स्थापना र पुनर्निर्माणका लागि आफ्नो सरकारले सहयोग गर्ने बताए ।

उनले नेपालका उल्लिखित विकास आयोजनामा कतारबाट लगानी भित्र्याउन आफ्नो सरकारले सहजीकरण गर्ने पनि बताए ।

यस्तै, अर्थमन्त्री वाग्लेले जर्जियाका वित्तमन्त्री लासा खुत्सिसिभली र आर्मेनियाका वित्तमन्त्री वाहे होभहान्निस्यानसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका छन् ।

भेटमा दुवै पक्षले पारस्परिक हितका विषयमा विचार आदानप्रदान गर्दै द्विपक्षीय आर्थिक सहकार्य थप मजबुत बनाउने उपायबारे छलफल भएको नेपाली दूतावासले जनाएको छ ।

त्यसपछि अर्थमन्त्री वाग्लेले दोहास्थित नेपाली दूतावासको भ्रमण गरेका थिए । कार्यवाहक राजदूत कुमार राईले दूतावासका गतिविधि तथा नेपाल–कतार सम्बन्धको वर्तमान अवस्थाबारे उनलाई जानकारी गराएका थिए ।

अर्थमन्त्री वाग्ले मंगलबार राति नै स्वदेश फर्किँदै छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ