विश्वकप क्रिकेटः नामिबियाको विजयी सुरुवात, सुपर ओभरमा ओमान निराश
थानकोट ।
जारी टी-२० विश्वकप क्रिकेटमा ओमानविरुद्ध सुपर ओभरमा ११ रनको जित निकाल्दै नामिबियाले विजयी सुरुआत गरेको छ ।
सोमबार ब्रिजटाउनमा ओमानले प्रस्तुत गरेको ११० रनको लक्ष्य पछ्याउने क्रममा नामिबियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन नै बनाएपछि खेल ‘टाई’ भएको थियो ।
सुपर ओभरमा पहिले ब्याटिङ गरेको नामिबियाले २१ रन बनाएपछि ओमानले जितका निम्ति २२ रनको लक्ष्य पाएको थियो । तर, ओमानले सुपर ओभरमा १० रन मात्र बनाएपछि नामिबिया ११ रनले विजयी भएको हो ।
ओमान र नमिबिया प्रतियोगिताको समूह ‘बी’मा छन् । यो समूहमा यी दुई टिमसँगै अस्ट्रेलिया, इंग्ल्यान्ड र स्कटल्यान्ड छन् ।
प्रतियोगिता अन्तर्गत आज राति ८ः१५ बजे दक्षिण अफ्रिका र श्रीलंकाबीच खेल हुने तालिका रहेको छ ।














