टी-२० विश्वकप: न्युजील्याण्डमाथि अफगानिस्तानको सहज जित, बंगलादेशसँग श्रीलंका स्तब्ध

Thankot Times

थानकोट ।

अफगानिस्तानले जारी टी-२० विश्वकपमा न्यूजील्याण्डलाई हराएको छ ।

शनिबार बिहान सम्पन्न खेलमा अफगानिस्तानले न्यूजील्याण्डलाई ८४ रनको फराकिलो अन्तरले परजित गरेको हो ।

अफगानिस्तानले दिएको १६० रनको लक्ष्य पछ्याएको न्यूजील्याण्ड १५.२ ओभरमा ७५ रनमा अल आउट हुँदा लज्जास्पद हार व्यहोर्न बाध्य भयो ।

न्यूजील्याण्डका लागि ग्लेन फिलिपले १८ र माट हेनरीले १२ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए ।

त्यस्तै अफगानिस्तानका बलर राशिद खान र फाजलहक फारुकीले ४-४ विकेट लिएका थिए भने मोहमद नावीले २ विकेट लिएका छन् ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । अफगानिस्तानका लागि रह्मतुल्लाह गुरबाजले सर्बाधिक ८० रन बनाए भने इब्राहिम जर्दानले ४४ र अजमातुल्लाह ओमरजाईले २२ रन बनाएका थिए ।

यो अफगानिस्तानको न्यूजील्याण्डविरुद्ध टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्मकै पहिलो खेल हो । समुह सी मा रहेको  अफगानिस्तानले लगातार दोस्रो जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र शिर्ष स्थानमा रहेको छ । यस अघि पहिलो खेलमा अफगानिस्तानले युगाण्डालाई पराजित गरेको थियो ।

अब न्यूजील्याण्डले अर्को खेल जुन १३ मा वेस्ट इन्डिजसँग खेल्ने छ भने अफगानिस्तानले जुन १४ मा पिएनजीबिरुद्ध खेल्ने तालिका रहेको छ ।

शनिबार नै सम्पन्न खेलमा बंगलादेश विजयी भएको छ ।

बंगलादेशले श्रीलंकामाथि २ विकेटको रोमान्चक जित हासिल गरेको हो ।

श्रीलंकाले दिएको १२५ रनको लक्ष्य पछाएको बंगलादेशले १९ ओभरमा ८ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि पहिला ब्याटिंङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाउँदै १२४ रन बनाएको थियो ।

जारी विश्वकपमा बंगलादेशको यो पहिलो खेल हो । यो जितपछि बंगलादेशले समुह डी मा महत्वपूर्ण २अंक हासिल गरेको छ ।

त्यस्तै श्रीलंकाले भने लगातार दोस्रो हार बेहोरेको छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकासँग हार बेहोरेको थियो ।

अब बंगलादेशले अर्को खेल सोमबार दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ भने श्रीलंकाले बुधबार बिहान नेपालसँग खेल्ने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *