टी-२० विश्वकप क्रिकेटः नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्ध, पाकिस्तानको पहिलो जित
थानकोट ।
जारी टी-२० विश्वकप अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्ध भएको छ ।
अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क स्टेडियममा अहिले बिहान हुने भनिएको खेल लगातारको वर्षापछि रद्ध भएको हो । खेल रद्ध भएसँगै नेपाल र श्रीलंका दुवैले समान एक-एक अंक बाँडेका छन् ।
यो नेपाल र श्रीलंकाले जारी विश्वकपमा हासिल गरेको पहिलो अंक हो ।
खेल रद्द भएसँगै श्रीलंका विश्वकपको समुह चरणबाटै बाहिरिएको छ ।
श्रीलंकाले यसअघि दुवै खेल हारेको थियो ।
अब नेपालले जुन १५ मा दक्षिण अफ्रिकासँग खेल्ने छ भने श्रीलंकाले जुन १७ मा नेदरल्याण्डससँग खेल्नेछ ।
प्रतियोगिता अन्तर्गत मंगलबार राति सम्पन्न खेलमा पाकिस्तान विजयी भएको छ ।
ओपनर मोहम्मद रिजवानको अर्धशतकप्रेरित पाकिस्तानले जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा क्यानडाविरुद्ध सात विकेटको जित निकालेको हो ।
मंगलबार न्यूयोर्कमा सम्पन्न खेलमा क्यानडाले प्रस्तुत गरेको १०७ रनको लक्ष्य पाकिस्तानले १७.३ ओभरमा तीन विकेटको गुमाएर पूरा गर्यो ।
जारी प्रतियोगितामा पाकिस्तानले तेस्रो खेलमा पहिलो जित निकालेको हो ।
प्रतियोगिता अन्तर्गत अहिले नामिबीया र अष्ट्रेलियाबीच खेल जारी छ ।
आज साँझ भारतले घरेलु टोली अमेरिकाको सामना गर्ने तालिका छ । सो खेलमा भारत पराजित भएमा पाकिस्तानको जारी विश्वकपमा अघिल्लो चरण पुग्ने अवसर सकिनेछ ।














