इरानमा हुने अन्तरार्ष्ट्रिय जोरखाने प्रतियोगितामा सहभागी हुने टोलीको बिदाइ
थानकोट ।
पहिलो अन्तराष्ट्रिय जोरखाने प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली शनिबार राति इरानको इस्फाहन प्रस्थान गरेको छ ।
जुन १८ देखि २३ सम्म हुने प्रतियोगितामा ऋतुराज सापकोटाको नेतृत्वमा इरान जाने खेलाडीहरूमा क्याप्टेन मिलन रानामगर, अन्तत अर्याल, अनुजसिंह श्रेष्ठ, कीर्तन रज्जाक, विशेष खड्गी र ठाकुर डाँगी रहेका छन् ।
टोलीलाई एसियन जुरखाने तथा पहलवानी स्पोर्ट्स फेडेरेशनका कार्यवाहक अध्यक्ष कर्ण बहादुर शाहीले जर्सी हस्तान्तरण गरी शुक्रबार बिदाइ गर्दै देशभक्तीको भावना र इच्छाशक्ति भए सीमित श्रोत र साधनका बावजुद पनि पदक जित्न सकिने धारणा व्यक्त गरे ।
प्रतियोगितामा सहभागी हुने खेलाडी तथा अफिसियलहरूका लागि चन्द्रागिरि नगरपालिका नैकापमा रहेको सान इन्टरनेशनल कलेजले समेत सहयोग गर्ने जनाइएको छ ।
खेलाडीहरुले प्राप्त गरेको यस महत्वपूर्ण अवसरलाई सान कलेजले प्रवर्द्धन गर्न पाउनु गाैरवको क्षण भएको बताउनुहुँदै सान इन्टरनेशनल कलेजका कार्यकारी निर्देशक कर्णबहादुर शाहीले प्राज्ञिक र अतिरिक्त गतिविधिहरुमा सान कलेजले सदैव साथ, सहयोग र समर्थन गर्ने बताए ।
सो क्रममा सान इन्टरनेशनल कलेजका अध्यक्ष डा. सुभाष घिमिरेले खेल प्रतियोगिताहरूमा विद्यार्थी खेलाडीहरुको सहभागिताले शैक्षिक संस्थाहरूको उन्नयनमा समेत सहयोग पुर्याउने बताउँदै खेल गतिविधिहरूमा सहयोग गर्न सके विद्यार्थीहरुको सार्वांगीण विकासमा टेवा पुग्ने विश्वास लिएको धारणा राखेका थिए ।
जोर खाने खेल शारीरिक व्यायम काैशलसँग सम्बन्धित पर्सियन मुलुकको परम्परागत खेल हो ।















