टी-२० विश्वकपः अफगानिस्तानमाथि वेस्ट इन्डिजको सहज जित, सुपर ८ का खेलहरू भोलिबाट

Thankot Times

थानकोट।

जारी टी-२० विश्वकप अन्तर्गत समुह चरणको अन्तिम खेलमा घरेलु टोली वेस्ट इन्डिजले अफगानिस्तानमाथि फराकिलो जित हासिल गरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिजले अफगानिस्तानलाई १०४ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २१९ रनको लक्ष्य पछाएको अफगानिस्तानले १६.२ ओभरमा अल आउट हुँदै ११४ रन मात्र बनायो ।

अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्बाधिक ३८ रन बनाए भने अज्मतुल्लाह ओमार्जाईले २३ रन बनाएका थिए । त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले सर्वाधिक ३ विकेट लिए भने अकील हुसैन र गुडकेश मोतीले समान २-२ विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोली वेस्ट इन्डिजले पूरा २० ओभरमा ५ विकेट गुमाउँदै २१८ रन बनाएको थियो ।

वेस्ट इन्डिजका लागि निकोलस पुरनले आक्रामक ब्याटिंग गर्दै ९८ रन बनाएका थिए । त्यस्तै जोन्सन चार्लेजले ४३, कप्तान रोभमन पावेलले २६ र शाइ होपले २५ रन बनाएका थिए । पुरनले बनाएको ९८ रन जारी प्रतियोगितामा व्यक्तिगत तर्फ सबैभन्दा ठूलो स्कोर समेत हो ।

यो जितपछि समुह सी मा वेस्ट इन्डिज चारै खेल जितेर ८ अंकसहित सुपर आठमा पुगेको छ भने अफगानिस्तानले ४ मध्ये ३ खेल जितेर सुपर आठमा पुगेको छ ।

सुपर आठमा भारत, अस्ट्रेलिया, अफगानिस्तान, बंगलादेश, अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका सुपर आठमा पुगेका छन् ।

अब सुपर आठको समुह क मा भारत, अस्ट्रेलिया, अफगानिस्तान र बंगलादेश रहेका छन् भने समुह ख मा अमेरिका, इङल्याण्ड, वेस्ट इन्डिज र दक्षिण अफ्रिका रहेका छन् ।

सुपर आठको दुई समुहमा रहेका देशले एक अर्कासँग एक-एक खेल खेलेपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।

सुपर आठका खेलहरु जुन १९ बाट सुरु हुनेछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *