टी-२० विश्वकप क्रिकेटमा हालसम्मकै ठूलो उलटफेर, अफगानिस्तानको ऐतिहासिक फड्को
थानकोट।
अफगानिस्तान जारी नवाैं आईसीसी टी-२० विश्वकप क्रिकेटमा सेमिफाइनल प्रवेश गरेको छ।
मंगलबार बिहान सम्पन्न खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगान टोलीले पहिलोपटक टी-२० विश्वकपको सेमिफाइनल यात्रा तय गरेको हो । मैदानमा पानी पर्ने र रोकिने क्रम जारी रहँदा त्यसको फाइदा काबुली टोलीले पायो ।
सन् २०१० को दोस्रो संस्करणको टी–२० विश्वकपबाट निरन्तर सहभागी हुँदै आएको अफगानिस्तानले नवौं संस्करणमा आएर यो सफलता पाएको हो।
वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा भएको खेलमा अफगानिस्तान ८ रनले विजयी भएको हो। अफगानिस्तानले दिएको १ सय १६ रनको लक्ष्य पछ्यमएको बंगलादेशले ओभरमा अल आउट हुँदै १०५ रन मात्र बनाउन सक्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो।
अफगानिस्तानका लागि रहमानुल्लाह गुर्वाजले ५५ बलमा ४३ तथा इब्राहिम जाद्रानले २९ बलमा १८ रन बनाए। कप्तान राशिद खानले १० बलमा १९ तथा अजमतुल्लाह उमरजाइले १० रन बनाए।
बंगलादेशका लागि रिषद होसेनले तीन तथा तस्किन अहमद र मुस्ताफिजुर रहमानले समान एक एक विकेट लिए।
अफगानिस्तानको जितसँगै विश्व् क्रिकेटमा हालसम्मकै सर्वाधिक सफल टोली अष्ट्रेलिया सुपर एटबाटै घर फर्किएको छ।
अफगानिस्तानले समूह चरणमा न्यूजिल्याण्ड र सुपर एटमा अष्ट्रेलियालाई पराजित गरेको थियो।
यो सँगै सेमिफाइनल समिकरण पूरा भएको छ। भारतले इङ्ल्याण्ड प्रतिद्वन्द्वी पाउँदा दक्षिण अफ्रिकासँग अफगानिस्तान भिड्नेछ।
भारतले गएराति सम्पन्न खेलमा अष्ट्रेलियाको चुनाैती समाप्त गर्दै प्रतियोगितामा शतप्रतिशत जित हात पार्दै सेमीफाइनलमा प्रवेश गरेको थियो ।
तस्बिरः अफगानिस्तानको जलालाबादमा बंगलादेशविरुद्धको खेल हेर्न भेला भएका समर्थकहरू ।
तस्बिर स्रोतः एएफपी














