आजदेखि महिला एशिया कप क्रिकेट, नेपालले युएईको सामना गर्दै
थानकोट ।
आजदेखि महिला एशिया कप शुरु हुँदै छ ।
जुलाई २८ सम्म श्रीलंकाको डाम्बुलामा हुने महिला एशिया कप क्रिकेट प्रतियोगितामा ८ देशले भाग लिँदै छन् ।
भारत, पाकिस्तान, श्रीलंका र बंगलादेशसहित एसीसी महिला प्रिमियर कप-२०२४ को सेमिफाइनल पुग्ने युएई, मलेसिया, नेपाल र थाइल्याण्ड यस प्रतियोगितामा सहभागी हुँदैछन् ।
एशिया कपमा नेपाल समुह ए मा रहेको छ । नेपालको समुहमा भारत, पाकिस्तान र युएई छन भने समुह बी मा बंगलादेश, श्रीलंका, मलेसिया र थाइल्याण्ड रहेका छन् ।
नेपालले आफ्नो पहिलो खेलमा आज यूएईविरुद्ध खेल्दै छ । यो खेल नेपाली समय अनुसार दिउँसो २:१५ बजेदेखि शुरु हुँदै छ ।
त्यस्तै, आज समुह ए का भारत र पाकिस्तानबीच पनि खेल हुने तालिका छ ।
यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुनेछ ।
नेपालले दोस्रो खेल जुलाई २१ मा पाकिस्तानविरुद्ध र तेस्रो खेल जुलाई २३ मा भारतविरुद्ध खेल्ने तालिका रहेको छ ।
एशिया कप खेल्ने नेपाली टिम:
इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।














