नवौं महिला एसिया कप क्रिकेट प्रतियोगिता- नेपालको ऐतिहासिक जित, यूएई ६ विकेटले पराजित

Thankot Times

थानकोट ।

शुक्रबारबाट श्रीलंकामा सुरु भएको नवौं महिला एसिया कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले विजयी सुरुवात गरेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको यूएई विरुद्ध नेपाल ६ विकेटले विजयी भएको हो ।

यूएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १६.१ ओभरमा  चार विकेटको क्षतिमा  एक सय १८ रन बनाउँदै विजय लक्ष्य पार गर्यो । नेपालका लागि सम्झना खड्काले ४५ बलमा ७२ रन बनाइन् । उनले सो क्रममा ११ चाैका प्रहार गरिन् । नेपालका लागि रुबिना क्षेत्रीले १० रन बनाएकी थिइन् ।

सो अघि युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाएकी थिइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निनधर्काले १३ रन बनाएकी थिइन् । नेपाली  बलर कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले समान एक-एक विकेट लिएका थिए ।

जित सँगै प्रतियोगितामा नेपालले महत्वपूर्ण २ अंक हात पारेको छ ।

तेस्रो पटक एशिया कप क्रिकेट खेलिरहेको नेपालले पाएको यो पहिलो जित हो ।

अब नेपालले अर्को खेल आइतबारर पाकिस्तानविरुद्ध खेल्दै छ भने युएईले आइतबार नै भारतको सामना गर्दै छ ।

यही समुहमा आज साँझ पाकिस्तान र भारतबीच खेल हुने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *