स्क्राबल खेललाई प्रवर्द्धन गर्दै चन्द्रागिरि नगर, प्रतियोगिता आयोजना गर्न रातो किताब मै बजेट
थानकोट ।
अंग्रेजी भाषाको विकास, सञ्चारको सीप, सहकार्य, नयाँ शब्द तथा शब्दावली सिकाउन संसारभर खेलाइने स्क्राबल खेलको प्रवर्द्धनका लागि चन्द्रागिरि नगरपालिकाले चालु आर्थिक वर्षमा बजेट विनियोजन गरेको छ ।
स्क्राबल खेल आयोजना गर्न चन्द्रागिरि नगरपालिकाले यस वर्ष ३ लाख रुपैयाँ विनियोजन गरेको हो ।
पछिल्लो समय नेपालमा समेत लोकप्रिय बन्दै गएको स्क्रबल चन्द्रागिरि नगरका केही संस्थागत विद्यालयमा खेलाउन थालिएको छ ।
चन्द्रागिरि नगरमा सतुङ्गलस्थित जेसिस इन्टरनेशनल मावि, नैकापस्थित ब्राइट फ्यूचर मावि, मच्छेगाउँस्थित न्यू-होराइजन एकेडेमी लगायतमा स्क्राबल खेलाउन क्लब नै गठन भएका छन् ।
चन्द्रागिरि नगरले यसवर्ष सामुदायिक विद्यालयममा समेत स्क्राबलको सैद्धान्तिक ज्ञान र प्रतियोगिता सञ्चालनका लागि सो बजेट विनियोजन गरेको बताइएको छ।
स्क्राबल प्रतियोगिताले विद्यार्थीहरुमा खेलको माध्यमद्धारा नयाँ नयाँ शब्दहरुको खोजि गर्ने , चिन्तन गर्ने र शब्द भण्डार वृद्धि गर्ने कलाको विकास गराउने हुँदा यसले विद्यार्थीहरुको शैक्षिक अब्बलता पनि तिब्र रुपमा वृद्धि गराउँछ ।
यो खेल अंग्रेजी वर्ण ए देखी जेड सम्मका अक्षरहरुको माध्यमद्धारा बोर्डमा नयाँ र स्कोर बढी प्राप्त गर्ने शब्दहरु निर्माण गर्दै २ जना खेलाडीहरु बीच समय सिमा निर्धारण गरि खेलाउने गरिन्छ ।
















