नागढुङ्गा सुरुङमार्ग प्रवेश गर्ने सवारी साधनबाट वार्षिक ३५ करोड राजश्व संकलन गर्ने लक्ष्य
थानकोट ।
राष्ट्रिय गाैरवको आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्ग यही कात्तिक महिनासम्म निर्माण सकेर सवारीसाधन सञ्चालन गर्ने सरकारको तयारी छ ।
सुरुङ सञ्चालन गर्न लाग्ने वार्षिक करिब ३५ करोड उठाउन सवारीसाधनको शुल्क निर्धारण प्रक्रिया अघि बढाइएको छ ।
सडक विभागले सुरुङ सञ्चालन खर्चअनुसार शुल्क प्रस्ताव गरेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पठाएको थियो । मन्त्रालयले शुल्कको प्रस्ताव सडक बोर्ड नेपालमा पठाएको छ ।
बोर्डले शुल्क स्वीकृतिका लागि बिहीबारसम्म प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारी गरेको छ ।
मन्त्रालयले बोर्डमा पठाएको शुल्क सवारीअनुसार फरक–फरक छ । कार, भ्यान, पिकअप, ट्र्याक्टर र माइक्रो बसलाई उपत्यका भित्रिँदा ७५ र बाहिरिँदा ५० रुपैयाँ शुल्क निर्धारण गरिएको छ । यस्ता सवारी दिनको ८ सय ५९ हाराहारी संख्यामा भित्रिने र ६ सय ४६ संख्यामा बाहिरिने आयोजनाको अनुमान छ ।
मिनी बस, मिनी ट्रक र टिपरलाई भने उपत्यका भित्रिँदा १ सय २५ र बाहिरिँदा १ सय रुपैयाँ शुल्क तय गरिएको छ । यी सवारी प्रतिदिन ५ सय ४० को संख्यामा उपत्यका भित्रने र ४ सय ६ वटाको संख्यामा बाहिरिने आयोजनाको अनुमान छ ।
बस र ट्रकलाई उपत्यका छिर्दा २ सय ५० र बाहिरिँदा २ सय रुपैयाँ शुल्क लाग्नेछ । यस्ता सवारी दिनको ७ सय ९४ भित्रने र ५ सय ९७ बाहिरिने आयोजना कार्यालयको अनुमान छ । ठूला ट्रक र हेभी सवारी (लरी) साधनले भने सुरुङबाट उपत्यका भित्रिँदा ५ सय र बाहिरिँदा ३ सय रुपैयाँ टोल शुल्क तिर्नुपर्नेछ ।
यी सवारी दिनको ५ सय ९६ भित्रने र बाहिरिने ४ सय ४८ रहेको आयोजनाको अनुमान रहेको खबर बिमल खतिवडाले कान्तिपुर दैनिकमा लेखेका छन् ।












