धादिङको भैरवी इन्टरप्राइजेज बन्यो एक वर्षमा सबैभन्दा धेरै इन्धन बेच्ने पम्प, कति भयो कारोबार ?
थानकोट ।
आर्थिक वर्ष ०८१/८२ मा सबैभन्दा ठुलो आर्थिक कारोबार गर्ने पेट्रोल पम्पको सूचीमा धादिङको भैरवी इन्टरप्राइजेज पहिलो स्थानमा उक्लिएको छ ।
दुई वर्षअघि आ व ०७९/८० मा पनि सर्वाधिक कारोबार गरेको यस पम्पले गत आ व मा एक अर्ब ८० करोड ४९ लाख ७५ हजार ८७३ रुपैयाँको पेट्रोल–डिजेल आयल निगमबाट खरिद गर्दै सबैभन्दा धेरै कारोबार गर्न सफल भएको हाे ।
आयल निगमबाट खरिद गरेको इन्धनमा निगमले नै तोकिएको नाफादर जोडेर मात्रै पम्पले इन्धन बिक्री गर्न पाउने व्यवस्था छ । त्यसैले निगमबाट बढी मूल्यको इन्धन खरिद गर्ने पेट्रोल पम्प नै सबैभन्दा धेरै कारोबार गर्न सक्षम हुने गरेका छन् ।
धादिङ सदरमुकाम धादिङबेँसीको भैरवी पम्पले निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जबाट दैनिक ६० हजार लिटरसम्म डिजेल र १० हजार लिटरसम्म पेट्रोल खरिद गरेको लैजाने गरेको छ । पम्प सञ्चालक टंक श्रेष्ठले जलविद्युत् आयोजना, निर्माणाधीन सडकलगायतलाई ठुलो परिमाण (बल्क) मा इन्धन बिक्री गर्दै आएको बताए ।
चितवनको कैलाश आयल विगतमा जस्तै यसपटक पनि दोस्रो स्थानमा छ । कैलाश आयलले निगमको अमलेखगन्ज डिपोबाट एक अर्ब ६४ करोड ६८ लाख ५६ हजार ३७४ रुपैयाँको पेट्रोल–डिजेल खरिद गरेको लगेको थियो ।
सो पम्पले डिजेल ७७ लाख ५६ हजार लिटर र पेट्रोल ३५ लाख आठ हजार लिटर खरिद गरेको लगेको अमलेखगन्ज डिपोले जनाएको छ । कैलाश आयल अघिल्लो आव ०८०/८१ मा पनि दोस्रो स्थानमै थियो । त्यतिवेला कैलाश आयलले एक अर्ब ५७ करोडको इन्धन निगमबाट किनेको थियो ।
नयाँ पत्रिकाबाट












