मनाङमा कात्तिक १७ गते प्रदेश सभा १ को उपनिर्वाचन हुने
थानकोट ।
हिमाली जिल्ला मनाङमा प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ ।
निर्वाचन आयोगको बिहीबार बसेको बैठकले मनाङ–२ प्रदेश सभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो ।
उक्त कार्यातालिकाअनुसार २०८२ साल भदौ १३ गतेबाट निर्वाचन अवधि सुरु भएको निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिए ।
विसं २०७९ मंसिर ४ गते भएको मनाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा (२) मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) अयोग्य ठरिएपछि उपनिर्वाचन हुने भएको उनले बताए ।
प्रदेश सभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी रहँदै प्रदेश सभाको कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने संविधानमा उल्लेख छ ।
प्रदेश सभा सदस्यको पद रिक्त भएपछि उपनिर्वाचन हुने तालिकासहित जानकारी प्राप्त भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । साथै आयोगबाट देशभर अद्यावधिक भई २०८२ साल भदौ २५ मा प्रकाशन हुने अन्तिम मतदाता नामावलीलाई नै यस उपनिर्वाचनमा समेत प्रयोग गरिने र मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट यही कात्तिक १६ गतेलाई तोक्ने निर्णयसमेत आयोगबाट जानकारी प्राप्त भएको छ ।
गत निर्वाचनमा जिल्लामा ६ हजार ७७९ कुल मतदाता रहेका थिए ।
कुल मतदातामध्ये चार हजार ८४५ अर्थात् ७१.४७ प्रतिशत मत खसेको थियो । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ प्रदेश सभा निर्वाचन क्षेत्र (२) को चार हजार १९७ मतदाता रहेको निमित्त प्रमुख निर्वाचन अधिकृत अर्यालले जानकारी दिए ।
गत निर्वाचनमा प्रदेश सभा सदस्य पदमा गुरुङ सर्वसम्मत निर्वाचित भएका थिए ।
प्रतिनिधि सभा सदस्य पदका लागि मात्र मतदान भएको थियो । रासस












